काठमाडौँ । क्यासिनोको लत लागेका बंगलादेशी नागरिक मोहिद्दिन अहमदलाई आफ्नै साथीले हत्या गर्छन भन्ने कुनै शंका थिएन । उनीहरु बंगलादेशबाट एउटै प्लेनको सँगैको सिटमा बसेर आएका थिए । काठमाडौस्थित एक होटलमा पनि सँगै बसेका हुन् । तर आफनै साथी नै हत्यारा बन्छ भन्ने कुरा उनलाई के थाहा ।त्यही नसोचेको घटना हुँदा आफनै साथीको बोतल प्रहारबाट उनको मृत्यु भएको छ ।
घटना काठमाडौँको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको कोठा नम्बर ११४ को हो । महानगरीय प्रहरी वृत्त कालीमाटीका अनुसार सँगै आएका दुला मियाले मोहिद्दिन अहमदको हत्या गरेका हुन् । प्रहरीमा ढिला सूचना प्राप्त हुँदा हत्या गर्ने व्यक्ति पनि पक्राउ परेका छन् । अहमद सन् २०१५ देखि नेपाल आउजाउ गर्थे । उनी विभिन्न होटलको क्यासिनोमा जान्थे ।
यसपाली उनीहरु यही जनवरी २० मा पछिल्लो पटक नेपाल आएका थिए । हिमालय एयरलाईन्सको सिट १० को वि र सीमा बसेर उनीहरु आएक थिए । एउटै कोठाको एउटै बेडमा बसेका व्यक्तिले भोलिपल्ट जनवरी २१ मा टाउकोमा बोतलले हानेर हत्या गरेको देखिएको प्रहरीको भनाई छ । मारेर फरार भएपछि जनवरी २२ तारिख साँझ सवा ४ बजे मात्रै प्रहरीलाई जानकारी आएको थियो । त्यो बेला अपराधी फरार भइसकेका थिए । उनी फरार भएपछि प्रहरीले सबै नाका बन्द गरेर खोजतलास गर्दा झापाबाट उनी पक्राउ परे ।
प्रारम्भीक अनुसन्धानमा उसलाई कसैले मार्न लगाएको देखिएको जनाइएको छ । उनीहरुका आफन्तले पनि सोही आशंका गरेका छन् । उनी क्यासिनोका नियमित ग्राहक हुन् । होटलमा दैनिक १५ सयमा भाडामा बसेका उनको ट्राभल एजेन्सी भएको खुल्न आएको छ । प्रहरीले घटना थाहा पाउँदा मिया फरार भए तर प्रहरीको सक्रियताले उनी फेला परे । हत्या पछि मृतकलाई खाटमा सिरक ओढाएर सुतिरहेको जस्तो बनाएर शव राखिएको अवस्थामा फेला परेको थियो । अहिले परिवारले भने शव लिएर फर्किसकेका छन् ।




