काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका राजनीतिक दस्तावेजहरुमा सधै नेपाली कांग्रेसलाई गाली गरिएका हुन्छन । सचिवालय बैठक, केन्द्रीय बैठक वा स्थायी कमिटी बैठक तथा महाधिवेशनमा समेत आफ्ना राजनीतिक प्रतिवेदन बनाउदा कम्युनिष्टहरुले सधै कांग्रेसलाई गाली गरेका हुन्छन ।
यसपटकको नेकपा केन्द्रीय कमिटी बैठकमा पनि अध्यक्षद्धयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनले नेकपा स्वंयलाई ‘देशभक्त र श्रमजीवि नेपाली जनताको आशा र भरोषाको केन्द्र’ दाबी गरेको छ भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई ‘ढुलमुले, सम्झौतापरस्त र दलाल’ विशेषण दिएर गाली गरेको छ । ‘नेपाली कांग्रेस मूलतः पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी भए पनि आफ्नो ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृत्तिका कारण यसले आर्थिक, सामाजिक रुपान्तरणको प्रतिनिधित्व गर्न सक्दैन’– प्रतिवेदनको जिकिर छ ।
यी विशेषणका बावजुद नेकपाले ‘नेपाली कांग्रेससँग आवश्यकता अनुसार सहकार्य’ गर्ने नीति छोडेको छैन। ‘तर त्यसो गर्दा उसको प्रतिक्रियावादी चरित्रको आलोचना र भण्डाफोर गर्ने कुरालाई बिर्सनुहुँदैन’, प्रतिवेदनमा यस्तो शर्त पनि राखिएको छ।प्रतिवेदनमा साना क्षेत्रीय र साना वामपन्थी पार्टीसँग आलोचना, सहकार्य र एकता गर्ने उल्लेख गरिएको छ। यद्यपि, प्रतिवेदनले नेपाली राजनीति मूलतः दुई ध्रुवीय बन्दै गएकोे विश्लेषण गरेको छ। उपनिर्वाचनको नतिजा मूल्यांकन गर्दै उक्त विश्लेषण गरिएको छ । नेकपाले भनेजस्तै कांग्रेस होत ? अब भने कांग्रेस नेताहरुले सोच्ने बेला आएको छ ।




