ताजा समाचार

क्युबा र जमैकाबीचको समुद्री इलाकामा ७.७ म्याग्नीच्यूडको भूकम्प

हवाना । जमैका र पूर्वी क्युबाबीचको क्यारेबियन समुद्री क्षेत्रमा मङ्गलबार ७.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ, तर उक्त भूकम्पबाट कुनै मानवीय र भौतिक क्षति भएको छैन । भूकम्पको धक्का मेक्सिकोदेखि अमेरिकाको फ्लोरिडासम्मको विशाल क्षेत्रमा अनुभव गरिएको थियो ।

भूकम्पको केन्द्रविन्दु जमैकाको १३९ किमी टाढा उत्तरपश्चिम मोन्टेगो बे क्षेत्रमा केन्द्रित रहेको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प स्थानीय समय अनुसार अपराह्न २ः१० बजे गएको थियो । भूकम्प समुद्रको भित्री सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो ।

क्युबाको राष्ट्रिय भौगर्भिक सेवाका प्रमुख डा एनरिक आराङ्गो आरियासले क्युबामा कुनै गम्भीर क्षतिको खबर प्राप्त नभएको बताए । उक्त भूकम्पका शक्तिशाली परकम्पहरु केम्यान द्वीपमा पनि अनुभव गरिएको थियो । यी परकम्पहरु करिब ६.१ म्याग्नीच्यूडसम्मका रहेका थिए । लगातारका परकम्पका कारण स्थानीय विद्यालयहरु बुधबार बन्द गरिएका छन्। रासस / एपी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *