रुपन्देही । रुपन्देहीको योगीकुटीका यौनिक तथा अल्पसङ्ख्यक समुदायकी रिना रानाको सीप सिकेर आत्मनिर्भर बन्ने धोको छ ।
त्यही धोको पूरा गर्न राना अहिले बुटवल उपमहानगरपालिकाको सहयोगमा सशक्तीकरण नेपालले आयोजना गरेको फेशन डिजाइन तालीममा सहभागी भइन् । उनले भनिन् “समाजमा हामीलाई हेर्ने दृष्टिकोण अझै सकारात्मक छैन, हामीप्रति आम नागरिकको सकारात्मक दृष्टिकोण बनाउन आयमूलक काममा जोडिन जरुरी छ ।” तालीमपछि आफ्नै व्यवसाय सञ्चालन गर्ने उनको योजना छ ।
पाल्पाको तानसेनमा जन्मिएर हाल बुटवलमा बस्दै आएकी अवान्तिका घर्तीमगर पनि फेशन डिजाइन तालीममा सहभागी छन् । तालीममा सीप सिकेर आफू पनि आत्मनिर्भर बन्ने र अरुलाई पनि सघाउने इच्छा उनको छ । “तेस्रो लिङ्गी भएकै कारण शारीरिक, मानसिक र सामाजिक हिंसा सहेर पनि सङ्घर्ष गर्दै यहाँसम्म आए । अब कुशल फेशन डिजाइनर बनेर समाजमा स्थापित हुने धोको छ, उनले भनिन्।”
बुटवल दीपनगरकी यौनिक तथा अल्पसङ्ख्यक समुदायकै दिया सारु पनि भविष्यमा सफल उद्यमी बन्ने चाहना बोकेर तालीममा सीप सिक्न तल्लिन छन् । तालीममा विभिन्न डिजाइनिङका कपडा सिलाउने सीप सिकेर स्वरोजगार बन्ने इच्छा सारुको छ । “हामी प्रायः नाच्ने गाउने कार्यक्रममा रमाउँछौँ तर नाच्ने भनेको वैश छदासम्म मात्रै हो । उमेर गएपछि यो सम्भव छैन, सारुले भनिन् “हातमा सीप भयो भने जहाँ गएर पनि आयआर्जन गर्न सकिन्छ ।”
बुटवलको ट्राफिकचोक बस्ने सायरा गुरुङलाई फेशन डिजाइनिङ मनपर्ने विषय हो । उनले समय समयमा विभिन्न ठाउँमा हुने कार्यक्रममा सहभागिता जनाउँछन् । आफैँले डिजाइनिङ गरेको कपडा सिलाउन नजान्दा सायरालाई कहिलेकाहीँ समस्या पर्ने गरेको छ । त्यही समस्या नहोस् भन्नका लागि फेशन डिजाइनिङमा दक्ष हुन तालीममा सहभागी भएको सायराले बताइन् ।
यौनिक तथा अल्पसङ्ख्यकलाई लक्षित गरेर आयोजना गरिएको फेसन डिजाइन तालीममा १६ सहभागी छन् । बुटवल उपमहानगरपालिका र युएनडिपीको सहयोग तथा बुटवल टेक्निकल इन्स्टिच्युटको संयोजनमा यौनिक तथा अल्पसङ्ख्यकका लागि पहिलोपटक यस्तो तालीमको आयोजना गरिएको हो ।
“अहिलेसम्म धेरैलाई सीप सिकाए तर यौनिक तथा अल्पसङ्ख्यकलाई पहिलोपटक प्रशिक्षण दिँदै छु । तालीमका प्रशिक्षक कमला चापागाईले भनिन् “शुरु शुरुमा अलि असहज महसुस भयो तर उनीहरुको राम्रो व्यवहार र क्रियाशीलताले सिकाउन सहज भएको छ ।” कामप्रतिको लगनशीलता र क्रियाशीलताका कारण ३९० घण्टाको तालीममा सबै सहभागी दक्ष हुने प्रशिक्षक चापागाईको विश्वास छ । तालीममा कुर्ता सुरुवाल, वान पिस, डिजाइनर ब्लाउज, लेहेङ्गा, प्लाजा, सरारा, गाउन, मेक्सीलगायतका विभिन्न डिजाइनका कपडा सिलाउन सिकाइने उनले बताइन् ।
स्थानीय सरकारबाट पहिलोपटक यौनिक तथा अल्पसङ्ख्यकका लागि तालीमको आयोजना हुँदा यो समुदायको अधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मी खुशी छन् । “तेस्रो लिङ्गीलाई लाग्ने अनेक लाञ्छना चिर्न सीपमूलक कार्यक्रम जरुरी छ”, सशक्तीकरण नेपालका अध्यक्ष आनिक रानाले भनिन्, “यो समुदायका युवा सीप सिकेर आत्मनिर्भर बनुन भन्ने उद्देश्यले यो तालीम आयोजना गरिएको हो ।”
परिवारबाट समेत अपहेलित भएका यौनिक तथा अल्पसङ्ख्यकलाई आत्मनिर्भर बनाउन तालीमले ठूलो सहयोग गर्ने आनिकको विश्वास छ । “समाजमा अझै पनि हामीलाई स्वीकार गरिएको छैन, तेस्रो लिङ्गीले कही पनि सजिलै काम पाउने वातावरण बन्न सकेको छैन । यस्तो अवस्थामा स्वरोजगारका लागि सीप सिक्न आवश्यक छ”, उनले भनिन् ।
कुनै पनि समुदायको सशक्तीकरणका लागि रोजगार प्रमुख विषय हो । यसका लागि सीप र दक्षता आवश्यक हुने भएकाले बुटवल उपमहानगरपालिकाले सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिएको उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताइन् । “सीप नजानीकन आत्मनिर्भर हुन सम्भव छैन, त्यसैले नगरमा रोजगारी सिर्जनाका लागि सीपमूलक र आयमूलक तालीमलाई जोड दिएका छौँ”, उनले भनिन् । रासस




