काठमाडौं । सत्तारुढ दलबाट प्रस्तावित अग्नि सापकोटा नयाँ सभामुख चयन भएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले उनलाई सभामुख चयन गरेको हो। सभामुखमा उनको एकल उम्मेदवारी थियो। नेकपाका सांसद सुवास नेम्वाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए। जुन सदनको कल्पना गरेका छौं।
संसदले जुन भूमिका निर्वाह गर्नुपर्छ भन्ने हामीले कल्पना गरेका छौं। उहाँले त्यो भूमिका निर्वाह गर्नुहुन्छ भन्ने विश्वासका साथ उहाँको नाम प्रस्ताव गर्दछुु, नेम्वाङले भने। प्रस्तावका समर्थनमा देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्ण, ओनसरी घर्तीले बोलेका थिए। सापकोटाले संसदलाई तटस्थ, जनपक्षीय र सन्तुलित ढंगले सञ्चालन गर्ने विश्वास व्यक्त गरिन्।प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस नेता मीनेन्द्र रिजालले पनि सम्बोधन गरेका थिए।उनले कांग्रेस संसदीय दलको निर्णय पढेर सुनाएका थिए। सभामुख पद तटस्थ रहनुपर्ने पद भएकाले आफ्नो दलले समाभुखमा उम्मेदवारी नदिएको बताए।
काे हुन् अग्नि सापकाेटा ?
अग्निप्रसाद सापकोटा व्यक्तिगत विवरण
जन्म मिति/स्थानः २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुविण्डे गाउँ
आमाको नामः तिलमाया सापकोटा
बुबाको नामः धनपति सापकोटा
स्थायी ठेगानाः चौतारा साँगाचोकगढी न.पा वडा नं ४, सिन्धुपाल्चोक
शैक्षिक योग्यता: स्नातक, त्रिभुवन विश्वविद्यालय
पारिवारिक स्थितिः श्रीमती, तीन छोरा
पेशा र अनुभवः १५ वर्ष अध्यापन, (७ वर्ष माध्यमिक विद्यालयको प्रधानाध्यापक)
पार्टी सदस्यता मिति र पार्टीको नामः वि.सं. २०३५ साल नेकपा (चौथो महाधिवेशन)
पार्टी जिम्मेवारीः स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
राजकीय जिम्मेवारीः वि.सं. २०६४ – चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निकटतम प्रतिद्धन्द्धीभन्दा २० हजार बढी मत (३०,१७५) ल्याइ निर्वाचित । देशभरि सर्वाधिक मत ल्याउने सातौं उम्मेद्वार । संविधानसभा सदस्यका रुपमा संविधान निर्माणमा सक्रियतापूर्वक क्रियाशाील ।
- वि.सं. २०६८ – वैशाख २२ गते नेपाल सरकारको सूचना तथा संचार मन्त्री
- वि.सं. २०७० – सिन्धुपाल्चोक–२ वाट दोस्रो पटक संविधान सभा सदस्यमा निर्वाचित तत्कालीन बागमती अञ्चलबाट तत्कालीन एकीकृत नेकपा(माओवादी) बाट विजयी एकमात्र सांसद ।
- वि.सं. २०७३ –नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्री
- वि.सं. २०७४ – प्रतिनिधि सभा सदस्यमा विजयी, सिन्धुपाल्चोक–१, लगातार तीनपटक संसद सदस्यमा विजयी (ह्याट्रिक)
- संक्षिप्त राजनीतिक जीवन
- वि.सं. २०२९ – सालमा विद्यार्थी संगठनमा आवद्व,
- वि.सं. २०३५ – पार्टी सदस्यता (नेकपा चौथो महाधिवेशन),
- वि.सं. २०३७ – शिक्षक संर्घष समितिको सदस्य (ने.रा.शि.सं) जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै ने.रा.शि.सं को केन्द्रीय महासचिव र उपाध्यक्ष,
- वि.सं. २०४८ – मा शिक्षकवाट राजीनामा दिई पूर्णकालीन राजनीतिमा सकृय,
- २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य,
- वि.सं. २०५१ – मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य,
- २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य,
- २०५२ माघदेखि भूमिगत,
- वि.सं. २०५२ – फागुनवाट शुरु जनयुद्वको नेतृत्वमा, पूर्वी उपक्षेत्रिय व्यूरो इन्चार्ज, २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनवाट पोलिट्व्युरो सदस्यमा निर्वाचित,
- वि.सं. २०५८ – पार्टीवाट गठन गरिएको ३ सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागि,
- वि.सं. २०६२ – चैत्र १४ गते सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोली ३ ठाँउमा लागि गम्भीर घाइते
- वि.सं. २०६२/२०६३ – दोस्रो जनआन्दोलनमा उपत्यका वरिपरिका जनतालाइ जनआन्दोलनमा परिचालनको नेतृत्व
- वि.सं. २०६९ – साल माघमा भएको एकीकृत नेकपा (माओवादी) को हेटौडा महाधिवेशनवाट पोलिट्व्युरो सदस्य
- वि.सं. २०६९ – साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता
- वि.सं. २०७१ – मा भएको विराटनगर सम्मेलनवाट स्थायी समिति सदस्य
- वि.सं. २०७३ – नेकपा (माओवादी केन्द्र)को कार्यालय सदस्य
- वि.सं. २०७५ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति सदस्य




