ताजा समाचार

अमेरिकाद्वारा ‘गर्भ पर्यटन’ भिषा माथि कडाइ

काठमाडौं । अमेरिकी सरकारले नयाँ भिषा नियम प्रकाशित गरेर ‘गर्भ पर्यटन’ माथि कडा प्रावधान ल्याएको छ ।राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले यो कानुन विदेशी महिलाले अमेरिका पुगेर बच्चा जन्माउने अभ्यासलाई निरुत्साहित गर्ने उद्देश्यले यस्तो प्रावधान ल्याइएको हो ।

अमेरिकाको संविधानमा अमेरिकी भूमिमा जन्मिएका बच्चाले स्वतः अमेरिकी नागरिकता पाउने उल्लेख छ ।
यस संवैधानिक व्यवस्थालाई टेकेर विश्वका कैयौँ देशका दम्पती बच्चा जन्माउने बेला अमेरिका घुम्न जाने र त्यहाँ गएर अस्पतालमा बच्चा जन्माएर नागरिकताको प्रत्याभूति गराएर फर्कन्छन् ।

अमेरिकाको कानुनले यस अभ्यासलाई अवैध भनेको छैन । तथापि सरकारले कहिलेकही गर्भ पर्यटकलाई ठूलो स्तरमा संचालन गर्नेहरुलाई पक्राउ गर्ने गथ्र्यो । सरकारको कारबाहीका बावजुद अमेरिकामा ‘गर्भ पर्यटन’ले ठूलो व्यवसायको रुप लिएको छ । यो व्यवसायमा संलग्न कम्पनीले विदेशी महिलालाई अमेरिका ल्याउने, अमेरिकामा बसोबासको क्रममा होटेल दिलाउने र चिकित्सा सेवाको प्याकेज नै दिन्छन् ।

गर्भ पर्यटनको यो प्याकेजको ८० हजार डलर शुल्क लाग्छ । यो अभ्यासमा रुस र चीनका महिला सबैभन्दा धेरै सहभागी भएको देखिएको छ । नयाँ कानुनले कन्सुलर अधिकारीलाई एक विशेष अधिकार दिएको छ जस अनुसार यदी अधिकारीलाई आवेदकको अमेरिका आउने उदेश्य बच्चा जन्माउने मात्र भएको लागेमा भिषा अस्वीकार हुनेछ । यो कानुन शुक्रबारबाट लागु हुनेछ । ट्रम्प प्रशासनले सुरुदेखि नै विभिन्न प्रकारका आप्रवासनमाथि कडाई गर्ने नीति लिदैं आएको छ ।

विश्वभरका कति महिला अमेरिकामा बच्चा जन्माउने उदेश्यले मात्र जान्छन् भन्ने सटिक तथ्याङ्क नभए पनि यो कार्यको विरोध गर्ने ‘सेन्टर फर इमिग्रेसन स्टडीज’का अनुसार सन् २०१२मा ३६ हजार विदेशी महिलाले अमेरिकामा बच्चा दिएको र त्यसपछि देश छाडेको आँकलन गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *