ललितपुर । बाथ, थाइराइड र स्त्री रोगका विरामीहरूलाई लक्षित गर्दै ललितपुर सातदोवाटोस्थित गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रको प्राङ्गणमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
ललितपुर महानगरपालिका, समाज कल्याण शाखा, जनस्वस्थ्य शाखा, १५ वटा कार्यालय, वडा स्वास्थ्य कार्यान्वयन समिति संयुक्त आयोजनामा तथा गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रको प्राविधिक सहयोगमा आज (माघ ११ गते शनिवार) एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

सो अवसरमा ८३ वर्षीय जेष्ठ नागरिक ललिता श्रेष्ठले समेत सुगरप्रेसर सम्बन्ध चेकजाँच गराएका थिए ।
सो अवसरमा बाथ रोग विशेषज्ञ डा। दीपा शाह, सुगर थाइराइट रोग विशेषज्ञ डा। दिपेन्द्र कार्की र डा। स्त्री रोग विशेषज्ञ डा मधु तम्बाहाम्फेले स्थानीय करीब २५० बाथ, थाइराइड, सुगरप्रेसर, स्त्री रोग तथा आँखासम्बन्धी विरामीहरूको निशुल्क स्वास्थ्य परीक्षण गरेका थिए ।

बढ्दो सहरीकरणसँग मानिसले अपनाइएरहेका अप्राकृतिक जीवनशैली र खानपानका कारण बाथ, थाइराइड, सुगरप्रेस र स्त्री रोगले व्यापकता पाइरहेकोले स्थानीय निकाय र सरोकारवाला समुहबीचको सहकार्यमा कार्यक्रम आयोजना गरिएको गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रका सञ्चालक हुत्तराज दुलालले बताए । गरीब तथा असाहय व्यक्तिलाई विशेष छुट र दीनदुःखीहरूलाई निशुल्क उपचार गराइँदै आएको समेत बताउँदै आगामी दिनमा गोसाइँकुण्ड स्वास्थ्य सेवा केन्द्रले ग्रामीण भेगमा स्वास्थ्य शिविर आयोजना गर्ने सोच रहेको सञ्चालक दुलालले जानकारी दिए ।




