काठमाडौं । देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सभामुखको उम्मेदवार टुङ्गो लागेको विषयका समाचारहरुले प्राथमिकता पाएका छन् । सत्तारुढ नेकपाले सभामुख उम्मेदवार टुंगो लगाएको छ। नेकपा सचिवालयको आइतबारको बैठकले पार्टी स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
‘अन्ततः पूर्वमाओवादीलाई सभामुख’ शीर्षक दिएर अन्नपूर्णले मुख्य समाचार छापेको छ । आइतबार बिहान प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको वन अन वन छलफलमा सभामुख उम्मेदवारको नाममा सहमति जुटेपछि नेकपाले साँझ सचिवालय बैठक बसेर सापकोटाको नाम अनुमोदन गरेको अन्नपूर्णले लेखेको छ ।
कान्तिपुर दैनिकमा सभामुख अग्नी सापकोटाको उम्मेदवारीले नेकपामा समीकरण फेरिएको संकेत गरेको समाचार छ । डेढ वर्षयता पार्टी एकतादेखि मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा अन्य नेताले आक्कलझुक्कल विरोध गरे पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भनेकै लाइनमा निर्णय हुँदै आएका थिए ।
नागरिक दैनिक हत्या आरोपित सापकोटा सभामुख प्रस्तावित शिर्षकमा मुख्य समाचार बनाएको छ । नेकपाले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दाका किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेको समाचार छ।




