खेलकुद

शहीद स्मारक लिग: मनाङ र थ्रिस्टारको खेल बराबरी

काठमाडाैं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारको खेलमा मनाङ–मस्र्याङ्दी क्लब र थ्री स्टारले क्लबले दुई दुई गोलको बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मनाङका लागि अञ्जन विष्टले दुई गोल गरे । उनले खेलको ४९औँ मिनेटमा पेनाल्टीमा गोल गरे । डी बक्समा अशोक खवासले अञ्जनलाई लडाएपछि मनाङले पेनाल्टी पाएको हो ।

खेलको ६९औँ मिनेटमा अन्जनले नै दोस्रो गोल गरे । कमल श्रेष्ठले उपलब्ध गराएको फ्रि–किकमा उनले हेडमार्फत गोल गरेका हुन् । यसअघि पहिलो हाफको २०औँ मिनेटमा थ्री स्टारका लागि भारतीय खेलाडी लाल रम्मावियाले गोल गरे । उनले फ्रि–किकमा गोल गरेका हुन् ।

खेलको ८३औँ मिनेटमा लाल रम्मावियाले नै दोस्रो गोल गर्दै खेललाई बराबरीमा पुर्याए । खेलमा मनाङका अञ्जन म्यान अफ दी म्याच घोषित भए । बराबरी खेलेपछि मनाङ १३ अङ्कका साथ लिगको तेस्रो स्थानमा छ भने थ्री स्टार ११ अङ्कसहित पाँचौँ स्थानमा छ ।

जाउला खेलविरुद्ध पुलिस विजयी

यसअघि शनिबारै भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गरेको थियो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसले जाउलाखेललाई २–० गोलले हरायो । पुलिसका लागि सौजन राई र सुमन सुवेदीले गोल गरेका हुन् । खेलको २७औँ मिनेटमा सौजनले तथा खेलको ४८औँ मिनेटमा सुमनले गोल गरेका हुन् ।

सो खेलको म्यान अफ दी म्याच पुलिसका सौजन घोषित भए । जितसँगै पुलिस ११ अङ्कसहित लिगको चौथो स्थानमा पुगेको छ भने जाउलाखेल नौ अङ्कका साथ छैटौँ स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *