काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोगका पदाधिकारी सिफारिस गरिएको छ । यी दुई आयोगमा नाम सिफारिस गर्न २०७५ चैत १२ गते सरकारले सर्वोच्चका पूर्वप्रधानन्यायधीश ओमप्रकश मिश्रको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । शनिबार बसेको सिफारिस समितिको बैठकले दुवै आयोगका लागि १० जनाको नाम सिफारिस गरेको हो। आयोगमा नियुत्त हुने पदाधिकारीको नाममा दलहरुबीच राजनीतिक सहमति जुटेकाले समितिले सर्वसहमत नाम सिफारिस गरेको हो ।
सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा कांग्रेसका तर्फबाट गणेशदत्त भट्ट तथा सदस्यमा प्रचण्डमान श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट सदस्यहरुमा गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस गरिएको छ। त्यस्तै सत्तारुढल नेकपातर्फका सिफारिसमा बेपत्ता व्यक्तिको छानबिन आयोगको अध्यक्षमा युवराज सुवेदी तथा सदस्यमा विष्णु भण्डारी एवं कांग्रेसका तर्फबाट सदस्यहरुमा सुनिल रञ्जन सिंह, डा। गंगाधर अधिकारी र सरिता थापाको नाम सिफारिस गरिएको छ ।
शनिबार बसेको प्रमुख दुई दलको बैठकले ऐन संशोधनको काम अघि बढाउने र सिफारिस समितिलाई नाम सिफारिस गर्न आग्रह गर्ने निर्णय गरेको थियो। आयोगमा सिफारिस भएका व्यत्तिहरुको नाम समितिले कानुन मन्त्री भानुभत्त ढकाललाई बुझाएको छ । सोतका अनुसार सोमवार बस्ने मन्त्रीपरिषद्को वैठकले पदाधिकारीलाई नियुत्त गर्ने बताएको छ ।




