काठमाडौं । दुई साता अघि उपराष्टपति नन्दबहादुर पुनको सरकारी निवासमा रोल्पाली तथा रुकुमेली नेताहरु भेला भएको समाचार कही कतै चुहिएन । यतिसम्म गोप्य भयो कि त्यो भेलामा को को सहभागी थिए भन्ने बारेमा सुरक्षा निकायमापनि कुनै जानकारी पुगेन । सुरक्षा निकायले पनि निकै ढिलो गरी त्यो सूचना पायो । स्रोतका अनुसार सो भेलाको उर्जामन्त्री बर्षमान पुनले नेतृत्व गरेका थिए । भेलामा जनार्दन शर्मा, ओनसरी घर्ती, जयपुरी घर्ती लगायतका पूर्व माओवादीका नेताहरु सहभागी भएका थिए ।
भेलामा उनीहरुले पूर्व माओवादीको शक्ति भनेकै रोल्पा रुकुम भएकाले राज्यको मूल स्रोतबाट उनीहरुलाई बाहिर पठाउन नहुने धारणा राखेको स्रोतले जनाएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुखमा अग्नी सापकोटाको नाम लिएपछि उनीहरु त्यहाँ भेला भएर सापकोटालाई सभामुख बनाउनुभन्दा बरु सुवास नेम्वांगलाई नै सभामख बनाउनु बेश भन्ने निष्कर्षमा पुगेका थिए । सभामुखमा कृष्णबहादुर महराको बर्हिगमनपछि उनीहरुले रोल्पा वा रुकुमकै नेताहरुले पाउनुपर्ने दावी थियो । तर प्रचण्डले जनार्दन शर्मा वा ओनसरी घर्ती कसैको पनि नाम लिएनन । उनले अग्नी सापकोटाको नाम लिएपछि उर्जामन्त्री पुन रुष्ट भएका थिए । पुन र सापकोटाको राम्रो दोस्ती छैन ।
सापाकोटाले पुनका गतिविधिलाई राम्रोसँग नियालेका कारण उनीहरुवीच दोस्ती बढ्न सकेको छैन । एकले अर्कोलाई सिध्याउने खेल अन्र्तगत ग्रीन हाउसमा पुनले सो भेला गरेको स्रोतको दावी छ । नेकपाले अहिलेसम्म सभामुख टुग्याउन सकेको छैन । दुई अध्यक्ष मध्ये केपी शर्मा ओली र प्रचण्डले आफू निकटका व्यक्तिलाई सभामुख बनाउन चाहेका कारण अहिलेसम्म सहमति जुटन सकेको छैन । सभामुख पदलाई लिएर नेकपाका दुई अध्यक्षको ‘लडाइँ’ले सार्वभौम जनताले सरकारको प्रगतिबारे सूचना पाउने थलो एक महिनादेखि बन्धक बनेको छ । सभामुख चयनको विषयमा दुई अध्यक्षबीचमा मतैक्य हुन नसक्दा विवादास्पद सूचना प्रविधि विधेयक, राष्ट्रिय मानवअधिकार आयोग ऐन, नागरिकता ऐन, ०६३ लाई संशोधन गर्न बनेको विधेयक आदिमा थप छलफल हुन सकेको छैन । केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालप्रचण्डबीच पाँच दिनपछि २ माघमा छलफल भयो । त्यसयता निरन्तर छलफल भएपनि प्रगति भने भएको छैन ।




