काठमाडाैं । युएईको आबुधाबीमा १८ नेपाली महिला कामदारसहित २४ जना सवार गाडी दुर्घट्ना भएको छ । आबुधाबीमा बिहीबार बिहान भएको सवारी दुर्घटना ३ नेपालीको ज्यान गएको पुष्टि भएको छ । सोही दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । बसमा चालकसहित २४ सवार थिए । जसमा २३ महिला रहेको बताइएको छ ।
ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ । तामाङको ठेगाना खुल्न बाँकी छ ।
एमबीएम कम्पनीमा कार्यरत उनीहरु काममा जाँदै गर्दा अल रहा भन्ने स्थानमा बिहीबार बिहान ५ः३० बजे दुर्घटनामा परेका थिए । गुडिरहेको लरीमा ठोक्किएर बस दुर्घटना भएको थियो । दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । घाइते हुनेहरूमा इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन् । त्यस्तै ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते छन् । सुजलाको नेपाल ठेगाना भने खुलेको छैन।
मफरक अस्पतालमा उपचारपछि निर्मला भने क्याम्प फर्किएकी छिन् । अन्य १३ जनाको आबुधाबीको मफरक , एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको खबरपाएपछि आबुधाबीस्थित नेपाली दूतावासका प्रतिनिधी कामदार उपचाररत अस्पताल पुगेका थिए ।




