दमौली । माघेसङ्क्रान्ति पर्वका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज देवघाटस्थित कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा स्नान गरेका छन् । अध्यक्ष थापाले पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम पुगेर स्नान तथा पूजाआजा गरेका हुन् ।
सो अवसरमा थापाले तनहुँको देवघाट गाउँपालिकास्थित गलेश्वर आश्रम, हरिहर आश्रम, महेश आश्रम र गुरुकूलको अवलोकनसमेत गरे । उनले स्वामी ज्ञानानन्द, रमणनान्द, कालीबाबासँग पनि साक्षात्कार गरे । देवघाट पुगेर स्नान गर्न पाउँदा ईश्वरीय आनन्दको अनुभूति भएको थापाले बताए । माघेसङ्क्रान्ति पर्वका अवसरमा देवघाटमा स्नान गर्न भक्तजनको भीड रहेको छ । कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा स्नान गर्दा मोक्ष प्राप्त हुने विश्वाससहित टाढाटाढाबाट तीर्थालु मङ्गलबार बेलुकीदेखि नै देवघाट आइपुगेका थिए ।
धर्मशास्त्रअनुसार ३३ करोड देवीदेवता ब्रह्म मुहुर्तमा स्नानका लागि देवघाटधाममा आउने विश्वाससहित भक्तजन माघेसङ्क्रान्तिमा स्नानका लागि आउने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।देवघाट आउने भक्तजनको सुरक्षाका लागि व्यवस्था मिलाइएको तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार यस वर्षको देवघाटमा कुनै भवितव्य घटना भएको छैन ।




