आजका पत्रपत्रिकामा जनकपुरमा टिपरले किचेर हत्या गरिएका ओमप्रकाश महतो (दिलिप) को हत्या प्रकरणले स्थान पाएका छन् । भने उपसभामुखलाई राजिनामा दिन नेकपाले गरेको आग्रहबारे सबै पत्रिकामा चर्चा छ ।
नागरिक दैनिकले खोला रित्याउँदै क्रसर माफिया शिर्षकमा मुख्य समाचार बनाएको छ भने हाइलाइट गरेर ज्यादती विरुद्ध बोल्दा ज्यान गयो शिर्षकमा दिलिप हत्या प्रकरणबारे समाचार छ । नदी उत्खनन्को बिरोध गर्ने दिलिप कुमार महतोलाई क्रसर उद्योगीहरुले शरीरमाथि टिपर चलाएर हत्या गरेको समाचारमा छ । त्यस्तै ओलीको अडानले दाहाल अप्ठेरोमा शिर्षकमा नेकपा भित्रको सभामुख चयनमा भएको सकसबारे लेखेको छ ।
राजीनामा दिन्नँ शिर्षकमा उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा नदिने, बरु संसद् बैठक सञ्चालन गर्ने चेतावनी दिएकको खबर अन्नपूर्ण पोस्ट्े छापेको छ। सत्तासीन नेकपाले राजीनामा मागेपछि पार्टीको निर्णयबारे आफूलाई जानकारी नभएको भन्दै उपसभामुखबाट राजीनामा नदिने तुम्बाहाङफेले बताएको समाचारमा उल्लेख छ।
त्यस्तै अर्को समाचारमा मेयरले मिचाए रामजानकीको जग्गा शिर्षकमा सडक विस्तारको क्रममा नीजी जग्गालाई छोडेर धनुषाधाम उपमहानगरपालिकाको रामजानकी मन्दिरको मात्र जग्गा अतिक्रमण गर्न मेयरले अनुमति दिएको समाचारमा उल्लेख छ ।
कान्तिपुरले ‘सभामुख चयन अन्योलमै’ शीर्षक दिएर आज मुख्य समाचार बनाएको छ । सत्तारूढ नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि सभामुख चयन प्रक्रिया अन्योलमा परेको हो । कार्यतालिताकाअनुसार सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्न प्रतिनिधिसभाको बैठक आइतबार बस्नुपर्ने हो । तर नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि बैठक बोलाउने या नबोलाउने भन्ने अन्योलता देखिएको समाचारमा उल्लेख छ ।
कारोबार दैनिकले कतार जानेभन्दा फर्कने कामदार बढी शिर्षकमा मुख्य समाचार बनाएको छ । विगत एक वर्षमा बैदेशिक रोजगारको लागि कतार जाने भन्दा फर्कनेको संख्या अधिक छ तर सरकारले फर्कनेको विवरण नराख्दा एकिन संख्या थाहा छैन।




