काठमाडाैं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य ललनकुमार रायको निधनप्रति दुःख व्यक्त गरेकाछन् । सभापति देउवाले मंगलबार एक शोक विज्ञप्तिमार्फत उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
महासमिति सदस्य रायको मंगलबार बर्दिवास नजिक बस दुर्घटनामा परी निधन भएको हो । काठमाडौँबाट महोत्तरीतर्फ जाँदै गरेको गङ्गोत्री यातायातको बस ट्रकमा ठोकिँदा दुर्घटना भएको थियो । स्व रायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा पु¥याएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक कुशल सङ्गठन कर्तालाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
महोत्तरीको मनरा सिसुवा नगरपालिका–९ निवासी स्व राय संविधानसभा सदस्य निर्वाचन २०७० मा महोत्तरी निर्वाचन क्षेत्र नं ४ बाट काँग्रेसको उम्मेदवार थिए । विसं २०३६ देखि नै विद्यार्थी राजनीतिमा संलग्न रहेर उहाँले आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । प्रजातन्त्र स्थापनाका लागि गरिएको संघर्षका क्रममा उहाँले करिब तीन वर्ष जेल जीवनसमेत बिताएका थिए ।
उक्त दुर्घटनामा काँग्रेस महोत्तरीका क्षेत्रीय सभापति राधवेन्द्र झा र नेता जयप्रकाश चौधरी समेत गम्भीर घाइते हुनुभएको काँगे्रसले जनाएको छ । घाइतेको जनकपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । सभापति देउवाले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।




