काठमाडौं । नयाँ कार्यालय प्रमुख आएपछि नयाँ काम गर्ने जोश जाँगर आएजस्तै काठमाडौं उपत्यका हेर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा डिआइजी विश्वराज पोखरेल आएसँगै शान्ति सुरक्षा कायम गर्न पोओटी टिम गठन गरेको छ । प्रहरीले आन्तरिक सेवा चुस्त बनाउँदै अपराध नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न ‘पर्फरमेन्स अडिट टिम’ (पिओटी) गठन गरेको हो ।
कार्यालय मातहतमा रहेका सादा पोशाकका घुमुवा टोली खारेज गरेको केही दिनमै कार्यालयले मातहतका प्रहरी कर्मचारीको काम कारवाहीको अनुगमन र मूल्याङ्कनका लागि यसरी टोली गठन गरेको हो । महानगरीय प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रहरीले दिएको सेवा प्रवाह, अपराध अनुसन्धान र नियन्त्रणमा खेलेको भूमिका, साधन स्रोतको परिचालन र सदुपयोग, सुशासन कायम गर्नेदेखि अन्य गतिविधिको मूल्याङ्कन गर्नेगरी प्रहरी उपरीक्षकको नेतृत्वमा टोली गठन गरिएको जानकारी दिए ।
प्रहरी उपरीक्षक रेवती ढकालको नेतृत्वमा गठन भएको उक्त टोलीले सादा पोशाकमा समेत आवश्यकताअनुसार छड्के जाँच गर्नसक्ने अधिकार दिइएको छ । पछिल्लो समयमा महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेपछि उनले मातहतका प्रहरी कर्मचारीलाई शान्ति सुरक्षामा अब्बल भएर काम गर्न निर्देशन दिँदै रात्रि सुरक्षासमेत चुस्त पारेका छन् । यसअघि उपेन्द्रकान्त अर्याल हुँदा मार्सल टिम गठन गरेर उपत्यकाका तीन वटै कार्यालय प्रमुख र यूनिटहरुको अनुगमन हुँदै आएको थियो ।




