आज राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् । सबैमा राजनैतिक विषयले पहिलो पृष्ठमा स्थान पाएका छन् ।
मनाङको चामेमा परेको हिउँको तस्वीर छापेको कान्तिपुरले ७ विश्वविद्यालय अस्तव्यस्त बनेको लेखेको छ । समाचार अनुसार कुनै विश्वविद्यालय आन्तरिक किचलोमा फसेका छन् भने कुनै पदाधिकारीविहीन अवस्थामा छन् ।
कान्तिपुृरले नक्कली भ्याट बिलका मुद्दा सुनुवाई हुँदै गरेका अर्कोे समाचार छापेको छ । सर्वोच्च अदालतले एक दशकअघिको बहुचर्चित नक्कली भ्याट बिल प्रकरणका मुद्दाहरूमा आइतवारदेखि सुनुवाई गर्दै छ । नक्कली बिलमार्फत भ्याट र आयकर छलेको आरोपमा भएको संशोधित कर र जरिवानामाथि सर्वोच्चबाटै ‘न्यायिक परीक्षण’ हुन लागेको हो ।
नागरिक दैनिकले तीन दिनयता पटक पटक हिमपातका कारण चिसो बढेर हिमालीसहित उच्चपहाडी भूभागको जनजीवन प्रभावित भएको समाचारलाई मुख्य बनाएको छ।
नेपाल समाचार पत्रले विद्युत् महशुल घटाउने तयारी गरेको मुख्य खबर छापेको छ । विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ । शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिएका हुन् ।
त्यस्तै अर्को एक समाचारमा कार्यालय प्रमुखलाई सांसदद्वारा मार्ने धम्की शिर्षकमा समाचार छ । समाचार अनुसार, सर्लाही क्षेत्र नम्बर ३ प्रदेश (ख) का प्रदेश सभा सदस्य सञ्जय यादवले कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार महतोलाई ज्यान मार्ने धम्की दिएपछि एक सातादेखि कामकाज ठप्प भएको छ ।
अन्नपूर्ण पोस्ट्ले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने नेकपा सचिवालयको निर्णयमा पार्टीका प्रदेशसभा सदस्य असन्तुष्ट बनेको विषय पहिलो पृष्ठमा छापेको छ। प्रदेशसभाको अधिकारमा पार्टी केन्द्रबाट हस्तक्षेप भएको भन्दै प्रदेशसभा सदस्य रुष्ट बनेका हुन् ।
कारोबार दैनिकमा जापानले केयरगिभरमा एक हजार नेपाली कामदार मागेको खबर छापेको छ । सो प्रक्रियाको लागि जनवरी र मार्चमा परीक्षा हुने समाचारमा उल्लेख छ ।
ताजा समाचार




