एजेन्सी । पूर्वकमान्डो र सूचना प्रबिधि क्षेत्रमा ब्यवसायबाट करोडौं सम्पत्ति जोडेका नेफटल बेनेट्ट इजरायलका नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन् । सदनमा ६० मत पाएर प्रधानमन्त्री निर्वाचित भएका हुन् । बेनेट्टले सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गर्नेछन् ।
बेनेट्टको दक्षिणपन्थी राष्ट्रवादी पार्टी पछिल्लो चुनाबमा केही सिटमा मात्रै सीमित हुन पुगेको थियो । उनको दलसँग मात्र सातजना निर्वाचित सांसद छन् । निवर्तमान प्रधानमन्त्री बेञ्जामिन नेतान्यूह र सेन्ट्रिस्ट प्रतिपक्षी दलका नेता यैर लापिड दुबैजनाले आलोपालो प्रधानमन्त्रीका लागि बेनेट्टसमक्ष प्रस्ताब राखेका थिए । तर, उनले त्यसलाई अस्वीकार गर्दै यैर लापिडसँगको यात्रा चयन गरेका छन् ।
४९ वर्षीय बेनेट्ट सन् २००६ देखि २००८ सम्म ‘चिफ अफ स्टाफ’को रुपमा कार्यरत थिए । सन् २०१३ मा पहिलोपटक संसदमा प्रबेश गर्दा बेनेट्ट नेतान्यूहको लिकुड पार्टी परित्याग गरी दक्षिणपन्थी धार्मिक जेविस पार्टीमा आबद्ध भएका थिए । सन् २०१९ सम्म उनले प्रत्येक गठबन्धन सरकारमा मन्त्री पदमा रहेर कार्यभार सम्हालेका थिए ।




