काठमाडौँ । सर्लाहीको मलङ्गवा नगरपालिका¬–१० का सुस्मिता ठाकुरको गत माघ २८ गते महोत्तरी जिल्लामा मागी विवाह भएको छ । विवाहभन्दा अगाडि आफ्नो घर, विद्यालय, कलेज र छिमेकीले उनलाई सुस्मिता नामले नै बोलाउने गर्थे । विवाह गरेर ससुरालीअर्थात् श्रीमान्को घर गएपछि सबैले उनलाई ‘मलङ्गवावाली’ भनेर बोलाउन थालेका छन् ।
सुस्मिताका लागि मलङ्गवा शब्द नौलो थिएन । जब उनको नामको साट्टा ‘मलङ्गवावाली’ भन्न थालिएपछि आफूलाई अनौठो लागेको उनले बताइन् । “सानैदेखि सबैले मलाई सुस्मिता भनेर बोलाउने गथ्र्यो । शैक्षिक प्रमाणपत्रदेखि लिएर आवश्यक सबै कागजातमा आफ्नो नाममा सुस्मिता नै लेखिएको छ”, उनले भनिन्, “विवाहपछि त मेरो बोलाउने नाम नै फेरिएको छ ।”
मलङ्गवाको जिल्ला विकास चोकमा फलफूलको पसल सञ्चालन गर्दै आएकी निर्मालादेवी गुप्ताको विवाह भएको करिब ३० वर्ष पुगेको छ तर अहिलेसम्म उनको वास्तविक नामबाट कसैले चिन्दैन । ‘बरहथवावाली’ को नामबाट नै उनलाई सबैले चिनिने गरेको छ । “निर्मला भनेपछि मलाई यहाँ कसैले चिन्दैन”, उनले भनिन्, “बरहथवावालीको नामबाट मलाई यहाँ सबैले चिनिनेगरिन्छ ।”
उनले वर्षौंदेखि मलाई सबैले बरहथवावाली भनेर नै बोलाउँछन् भन्दै अब मलाई आफ्नो नाम बिर्सेजस्तो लाग्ने गरेको बताइन् । सरकारी वा कागजी प्रक्रियाको केही काम भयो भने मात्र त्यहाँ मेरो नाम निर्मालादेवी गुप्ता लेखिन्छ । अन्यथा यहाँको समाजले दिएको मेरो नाम ‘बरहथवावाली’ नै हो । यसबाटै मेरो पहिचान भएको छ । “श्रीमान्ले समेत बरहथवावाली भनेर नै बोलाउने गरिन्छ”, उनले भनिन्, “विवाहपछि हाम्रो पहिचान नै माइतीको गाउँबाट हुने गरिन्छ । अहिलेसम्म मेरो श्रीमान्ले पनि मलाई नाम लिएर बोलाएको छैन ।”
सुस्मिता र निर्मला प्रतिनिधि पात्र मात्र हुन् । मधेसीमा समुदायमा विवाहपछि महिलालाई बोलाउने नाम नै उनको माइतीको गाउँठाउँको नाम हो र यसै नामले उनलाई सबैले चिनिन्छ । फलस्वरुप घरपरिवार र समाजका अधिकांश मानिसलाई विवाहित महिलाको वास्तविक नाम थाहा हुँदैन । विवाहित महिलालाई समाज र परिवारले उनको वास्तविक नामले भन्दा पनि माइतीको गाउँको नामले स्वीकार गर्ने प्रचलन यहाँ पुरानै हो । त्यसैले मधेसमा विवाहपछि महिलालाई माइती गाउँ वा श्रीमान् र छोराको नामले बोलाउने गरिएको ओरेक नेपाल सर्लाहीका संयोजक देवकुमारी महराले बताइन् । मेरो कार्यालयको काम विशेषले मलाई बाहिरका व्यक्तिले मेरो वास्तविक नामले चिनिन्छ तर आफ्नै ससुराली घरको व्यक्ति र त्यहाँका समाजले मलाई ‘सीतापुरवाली’ भनेर नै चिनिने र बोलाउने गरेको उहाँको भनाइ छ । “आफूले दुःखकष्ट र मेहनत गरेर घर बनायौँ तर त्यो घर मेरो नामले होइन, मेरो श्रीमान्को नामले चिनिन्छ”, उहाँले भनिन्, “समाजले महिलाको नामलाई मान्यता दिएको छैन ।” बाहिर मेरो कामको अधारमा नाम त छ तर महिला भएकै कारणले मेरो नामले ससुरालीमा पहिचान पाएको छैन, उनको भनाइ छ ।
आफ्नो छोराको बिहे गरेपछि बुहारीलाई नामले बोलाउन थालेपछि समाजले अहिले आफूलाई परम्परा नै बिगारेको आरोप लगाउने गरेको उनले बताइन् । नाम र थर बिना नै यहाँका महिला बाँच्नुपरेको शान्ति सेवा केन्द्र मलङ्गवाकी संयोजक एवं महिला अधिकारकर्मी बनिता कार्कीले बताइन् । “महिलाको पहिचानमै यहाँ विभेद भएको छ । आफ्नो नाम नै गुमाउनुपरेको पीडा उनीहरुले व्यक्त गर्न सकिराखेकोे छैन”, उनले भनिन्, “पहिचान गुमाएर बस्नुपर्दा यहाँका महिला पीडित छन् ।”




