समाचार

ठाडो भाका र बत्ती कर्पुटारका विशेषता

गण्डकी । कता गयो देउबहादुर दुरा
शून्य भयो कर्पुटार बजारʾ

पश्चिम नेपालमा निकै लोकप्रिय छन् । लोकसाहित्यअन्तर्गतको महत्वपूर्ण विधाका रुपमा रहेको ठाडा भाकाका गीत पश्चिम नेपालको पहिचान हो । यही ठाडो भाकाको उद्गमस्थल लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ७ कर्पुटारले चासो र चर्चा कमाएकोे छ ।

धार्मिक महत्वको मध्यनेपाल – ७ स्थित इशानेश्वर महादेव मन्दिरको १०० मिटर उत्तरमा रहेको गौरीकुण्डको २० मि पूर्व टारी डिलको भिरालो परेको थुम्का कर्पुटारस्थित ईशानेश्वर महादेव मन्दिरमा शिवरात्रि मेलाका दिन रातभर बसेर ठूलास्वाँराका देउबहादुर दुराले ठाडो भाकामा पहिलो पटक गीत गाएका थिए । पछि ठाडो भाकामा विभिन्न गायकले विशेष योगदान गरेका थिए ।

शिवरात्रिमा बत्ती बाल्ने क्रममा लमजुङ नेटाका देउबहादुरले वि.सं १९५० का दशकमा पहिलो पटक करापुटारमा ठाडो भाका गाएकाले यसको गरिमामय इतिहास छ । सात दिन सात रातसम्म पनि गीत गाउन सक्ने ठाडो भाकाका नायक उहाँको नामसँग जोडेर अहिले पनि मानिसहरू गाउँछन् ।

‘माइत जाँदा कुरौनी पाहुर,
गयो क्यारे देउबहादुर लाहुर’,
‘देउबहादुर दुरा करापुटार झर्यो,
बूकी फूल लाउँदै लाउँदै’

यो भाका अहिले लमजुङ, गोरखा, तनहुँ, कास्की तथा स्याङ्जा जिल्लामा प्रचलित छ । यसमा केही स्थानीय भेद पनि छन् । कर्पुटारमा गाइएको भाकाको उद्गमस्थल लमजुङको कर्पुटार मुख्य थलो भएकाले यसलाई कर्पुटारे भाका वा लमजुङे भाका भन्नुपर्ने भए पनि पछि त्यो नभनी ठाडो भाकाका रुपमा लिइएको लोकसाहित्यका अनुसन्धाता प्रा.डा.कुसुमाकर न्यौपानेले बताएका छन् । “लमजुङको कर्पुटारबाट सुरु भएका कारण यसलाई कर्पुटारे भाकाका रुपमा लिइनुपर्छ”, उनले भने । “कर्पुटारमा लाग्ने महाशिवरात्रि मेलामा सुरु गरिएको यो भाकाका गीत अहिले पछिल्लो पुस्ताले पनि गाउने गरेका छन् ।”

‘शिवरात्रि कर्पुटार,
चैतेदसैँ बागलुङ बजार’

ठाडो भाकाको यस्तो गीत अन्त्यानुप्रास मिलाएर गाउनुपर्छ । सो गीतका टुक्का प्रायः प्रकृतिसँग जोडिएर माया र पीरतिमा टुङ्गिने गर्छन् । सो भाकामा गाउँका, दुःख, विरह, वेदना, कुण्ठा, प्रेम, समाज, वातावरण, समसामयिक घटना, इतिहास, सामाजिक परिवेशलगायत विषय समेटेर गाउने गरिन्छ । अन्य दोहरी गीतभन्दा उर्वर मानिने ठाडो भाकालाई स्थानीयवासीले दिनभर काम गरेर थाकेका बेलामा चौतारीमा बसेर मनलाई हलुङ्गो बनाउने माध्यमका रुपमा पनि लिने गरिएको छ । प्राचीनकालदेखि मेलापात र गाईवस्तु चराउँदा मनोरञ्जनका लागि गाइने ठाडो भाकामा पछिल्ला वर्ष दोहोरी गीत आउने क्रम पनि बढ्दै गएको छ ।

शिवरात्रिका अवसरमा गाइने ठाडो भाकासँगै सन्तानोत्पत्तिको कामना गर्दै बालिने ठाडो बत्ती कर्पुटारको अर्को सांस्कृतिक मौलिकता हो । सो अवसरमा दिनभर निराहार व्रत बस्ने र रातभर उभिएर ठाडो बत्ती बाल्दा सन्तान प्राप्ति हुन्छ भन्ने जनविश्वासका कारण प्रत्येक वर्ष शिवरात्रिमा यहाँ देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् । सन्तान जन्मेपछि सन्तान लिएर दर्शनार्थी मन्दिरमा पुग्ने गरेका छन् । शिवरात्रिमा वर्षेनी एक हजारभन्दा बढी भक्तजन उठेर बत्ती बाल्छन् । उक्त क्रममा ठाउँठाउँमा भजन कीर्तनसँगै ठाडो भाकाका गीत गाउने गरिन्छ ।

‘सन्तानेश्वर महादेव’ मन्दिरमा आफ्ना सन्ततिको दीर्घायुको कामना गर्दै बत्ती तथा लाखबत्ती बाल्नेको समेत शिवराित्र मेलामा भिड लाग्ने गरेको स्थानीय चन्द्रज्योति आमा समूहका सल्लाहकार सरस्वती सोतीले जानकारी दिएका छन् । शिवरात्रिमा सहभागी बन्नेहरू उक्त दिन सबेरै नजिकैको मादी नदीमा स्नान गरी मन्दिरमा गाईको दूध एवं बेलपत्र चढाउँछन् । त्यस अवसरमा पुराण वाचन, रुद्री पाठ, सामूहिक व्रतबन्धका साथै विवाह गर्ने गरिएको छ । मादी र मिदिम नदीका किनारमा रहेको फराकिलो फाँटमा रातभर ठाउँठाउँमा भजन कीर्तनसहित बत्ती बालिएको दृश्यले जो कोहीलाई लोभ्याउने गर्छ । शिवरात्रि मेलाका साथै एकादशी, औंँसी, पूर्णिमा, सङ्क्रान्तिलगायत तिथिमा पनि भारतसहित देशका विभिन्न जिल्लाबाट बत्ती बाल्न भक्तजन आउने गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *