टीकापुर । कैलालीको टीकापुरकी प्रियङ्का परियारले तिहारका लागि चाहिने सामान खरिद गरिसकेकी छिन् । उनले तिहारमा रोटी पकाउन र भाइका लागि आवश्यक मसला खरिद गरेकी छिन् । उनले सामान खरिद गर्दा मूल्यसूची हेर्ने र मोलमोलाई गरीन्न । व्यापारीले तोकेको मूल्यमा सामान किनेको उनले बताइन् । ‘‘विगतका तुलनामा मूल्य बढेको रहेछ, व्यापारीले जति भने उति तिरेर सामान ल्याएँ’’, उनले भनिन्, ‘‘मैले पसलमा मूल्यसूची पनि देखिन, हेर्ने पनि गरेको छैन ।’’
उनिसँगै उनका दुईजना छिमेकी साथी पनिसँगै आएका थिए । ‘‘पसलमा निकै भीड थियो । टाढा बसेर भाउमोल गर्न सम्भव पनि थिएन । हामीले सामान माग्यौं’’, प्रियङ्का भनिन्, ‘‘व्यापारीले सामान दिए, जति मूल्य भने उति तिरेर आयौँ, घर आएर हिसाब गर्दा सबै सामानमा मूल्य चर्को लगाइएको रहेछ ।’’
उनले त्यसो गरे पनि कैलालीको जगतपुरकी शान्ति आचार्यले भने मोलमोलाई गरेर, गुणस्तर हेरेर, मूल्य सोधपुछमात्रै सामान किनिन् । उनले अन्य समयमा पनि मूल्य हेरेर मात्रै सामान किन्छीन । तिहारमा प्रयोग गरिने रङबारे पनि उनले सचेत छिन् । ‘‘मैले सामान किन्दा १÷२ पसल छानेर, सामानको गुणस्तर हेरेर मात्र किन्छु, यसपटक पनि त्यही गरे । सामानको ग्यारेन्टी हेर्छु’’, उनले भनिन्, ‘‘किन्ने हामी, किनेपछि खाने पनि हामी भएकाले आफ्नो स्वास्थ्यसँग जोडिएको खानेकुरा किन्दा सचेत हुनुपर्छ भन्ने बुझेकी छु ।’’
चाडपर्वका समयमा मानिसले अन्य समयभन्दा बढी किनमेल गर्दछन् । तिहारका समयमा खाद्यान्न पसलमा बढी व्यापार हुन्छ तर त्यही उपभोक्ता ठगिने जोखिम पनि हुन्छ । ठगिनबाट जोगिन उपभोक्ता र बिक्रेताले मूल्यसूची हेर्ने र मिसावट नभएको खाद्यान्न किन्ने र बेच्ने गर्नुपर्छ । तर उत्पादक र व्यापारीले ठग्ने डर धेरै हुन्छ । किराना पसल सञ्चालन गर्नुभएका चेतन चौधरी आफ्नो पसलमा आउने धेरै ग्राहकले मूल्यसूची र गुणस्तरबारे चासो नदिएको बताउनुहुन्छ । ‘‘कोहीकोहीँ उपभोक्ता सचेत हुन्छन्, उनीहरु सामान हेरेर, मूल्य सोधेर किन्छन्, मलाई दुःख लाग्दैन, उनीहरुको अधिकारभित्र पर्छ’’, उनले भनिन्, ‘‘हामी पनि सामान ल्याउँदा उत्पादकबाट ठगिएका हुन्छौँ, मैले बालबालिकाले खाने धेरै कुरामा ग्यारेण्टी र म्याद नदेखेर फिर्ता पठाएको छु ।’’
तिहारको समय होस् या अन्य समयमा पनि बजारमा मानिस ठगिन सक्छ । खाद्यान्न किन्दा मूल्यमा, तौलमा र गुणस्तर जे मा पनि ठगिन सक्छ । व्यापारीको मनोमानी, उत्पादकको मिसावट जस्ता कार्य भएमा उपभोक्ता ठगिने डर धेरै हुन्छ । अझ मूल्यसूची नै नभएका पसलबाट सामान खरिद गर्न हुँदैन । उपभोक्ता संरक्षण मञ्च टीकापुरले उपभोक्तालाई यसरी ठगिनबाट जोगाउन टीकापुर नगरपालिकासँग मिलेर जनचेतना फैलाउने काम गरिरहेको मञ्चका उपाध्यक्ष प्रेमराज भट्टराईले बताए ।
‘‘हामीले पालिकालाई जनचेतना जगाउनेदेखि अन्य खाले सहयोग गरिरहेका छौँ’’, उनले भने ,‘‘नागरिकलाई स्वास्थ्यसँग जोडिएका सबै सामान खरिद गर्दा ध्यान दिन सचेत गराउन थालेका छौँ ।’’सरकारका तीनवटै संयन्त्रले उपभोक्ता हितका क्षेत्रमा काम गर्ने गरेका छन् । तीनै तहलाई अनुगमन गर्ने, कडाई गर्ने अधिकार दिइएको छ ।
टीकापुर नगरपालिकाले पनि नियमित अनुगमन, मूल्यसूचि राख्न दबाब दिने, उपभोक्तालाई ठगिएको महसुस भएमा नगरपालिकामा उजूरी गर्न प्रोत्साहन गर्ने गरेको नगरपालिका उपभोक्ता हित संरक्षण उपशाखा प्रमुख नन्दबहादुर केसी बताएका छन् । ‘‘हामीले बजार क्षेत्रमा मात्र होइन बस्तीस्तरमा रहेका पसलमा समेत अनुगमन थालेका छौँ, व्यापारीलाई अनिवार्य कानूनी दायरामा आउन, मूल्यसूची लगायतका मापदण्ड पूरा गर्न लगाउँदैछौँ’’, उनले भने, ‘‘हामीले केही पसलमा बिक्री गरिने सामानको मूल्य सोधेर, एउटै र उस्तै सामानमा पसल पसलबीच भएको मूल्यबीचको असमानता समेत सार्वजनिक गरेका छौँ ।’’




