काठमाडौं । प्रधानमन्त्री केपी ओली पहिलोचोटि पशुपतिनाथ मन्दिरमा पुगेका छन् । सोमबार बिहान धर्मपत्नी राधिका शाक्यका साथ ओली पशुपतिनाथ मन्दिर पुगेर विशेष पूजा र दीप प्रज्ज्वलन गरेका हुन् ।
पशुपति विकास कोषका अनुसार प्रधानमन्त्री ओली दम्पतीले विश्व शान्ति तथा राष्ट्र कल्याणको संकल्पसहित विशेष पूजा र सवा लाख दीप प्रज्वलन गरेका हुन् । प्रधानमन्त्रीले पशुपतिनाथ मन्दिरको अवलोकन पनि गरेका थिए ।
पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उनले कोषका पदाधिकारीलाई निर्देशन दिए ।
अहिलेसम्म नेपालका प्रधानमन्त्री पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेको घटना विरलै हो । भारतीय प्रधानमन्त्री, राष्ट्रपति वा अन्य नेता आएमा पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा गर्ने गर्छन् । प्रधानमन्त्री ओली पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।





