फिचर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भव्य दरबार, अवैध धनको प्रयोग गरेको दाबी

कृष्ण सागरको तटमा एउटा विलासी दरबार निर्माणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अवैध धनको प्रयोग गरेको दाबीसहित रुसका प्रमुख विपक्षी नेताले सार्वजनिक गरेको खोजपूर्ण भिडिओ एक दिनमै दुई करोड ७० लाखभन्दा धेरै पटक हेरिएको छ।

मस्को फर्किएका एलेक्सी नभाल्नीलाई पक्राउ गरेर जेल हालिएपछि उनको समूहले उक्त भिडिओ सार्वजनिक गरेको थियो। उक्त अनुसन्धानले सो दरबारको मूल्य एक अर्ब पाउन्ड रहेको उल्लेख गर्दै त्यसका लागि ‘इतिहासकै सबैभन्दा ठूलो घुस’ दिइएको आरोप लगाएको छ। क्रेम्लिनले उक्त सम्पत्ति राष्ट्रपति पुटिनको भएको अस्वीकार गरेको छ।

प्रवक्ता दिमित्री पेस्कोभले सङ्घीय अधिकारीहरूले ब्ल्याक सीको तटीय क्षेत्रमा भव्य दरबार क्षेत्रलाई सुरक्षा दिइरहेको भन्ने दाबी ूपूर्ण रूपमा मिथ्याू भएको बताए। नभाल्नीको अनुसन्धानले उक्त सम्पत्तिले मोनाकोको भूगोलभन्दा ३९ गुना क्षेत्र चर्चिएको उल्लेख गरेको थियो।

जर्मनीबाट फर्किएका नभाल्नीलाई विमानस्थलमा गिरफ्तार गरिएको दुई दिनपछि गत साता उक्त भिडिओ सार्वजनिक भएको थियो । जालझेलको मुद्दामा निलम्बित सजायसँग सम्बन्धित सर्तहरू उल्लङ्घन गरेको भन्दै उनलाई ३० दिनका लागि थुनामा राखिएको छ। आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका कारण आरोप लगाइएको उनको दाबी छ। बुधवारबाट उनीविरुद्ध अर्को मुद्दा अघि बढाउने तयारी गरिएको भए पनि त्यसलाई पर सारिएको छ।

चवालीस वर्षीय नभाल्नीलाई गत वर्ष अगस्टमा स्नायुविष प्रयोग गरी आक्रमण गरिएको थियो। उनको झन्डै ज्यान गएको थियो। उक्त घटनाका लागि व्यक्तिगत रूपमा पुटिन जिम्मेवार रहेको उनले आरोप लगाएका छन्। क्रेम्लिनमा त्यसमा आफ्नो संलग्न अस्वीकार गरेको छ।
विपक्षी नेताले लगाएको सुरक्षा निकायको संलग्नताको आरोपमा बलियो आधार रहेको खोज पत्रकारहरूको छानबिनले पनि देखाएको छ।

उक्त रिपोर्टमा रिजोर्टहरू भएको सहर गेलेजिकमा निर्माण गरिएको संरचनाका लागि पुटिनको भित्रिया समूहका सदस्यहरूले अवैध धन उपलब्ध गराएको दाबी गरिएको छ। उक्त समूहमा तेल प्रमुख तथा अर्बपतिहरू भएको विश्वास गरिन्छ। ‘उनीहरूले आफ्नो मालिकका लागि यो पैसाले एउटा दरबार बनाइदिए,’ नभाल्नीले भिडिओमा भनेका छन्।

त्यसमा उक्त निजी आवास आसपासको ७० वर्ग किलोमिटर जमिन रुसको सङ्घीय सुरक्षा निकायको स्वामित्वमा रहेको आरोप लगाइएको छ। उक्त परिसरमा रहेका विभिन्न संरचनाहरूको व्याख्या गर्दै भिडिओमा त्यहाँ जुवाघर, भूमिगत आइस हकी खेल्ने कम्प्लेक्स र मदिरा उत्पादन हुने ठाउँ रहेको उल्लेख गरिएको छ।

त्यहाँको तारबार पार गर्न नसकिने किसिमको रहेको भन्दै त्यहाँ अलग्गै सुरक्षा, गिर्जाघर, प्रवेश प्रणाली, उडान गर्न नमिल्ने व्यवस्था र सीमा जाँचबिन्दु रहेको नभाल्नीले भिडिओमा बताएका छन्। ‘यो रुसभित्रको अलग्गै राज्य हो,’ उनले थपेका छन्, ‘अनि यो राज्यमा एक जना र कहिल्यै नफेरिने जार पुटिन छन्।’

नभाल्नी भ्रष्टाचारविरोधी अभियानकर्ता हुन् र राष्ट्रपति पुटिनका अगाडि भएका सबैभन्दा मुख्य विपक्षी व्यक्तित्व हुन् । उनले सन् २०१८ को राष्ट्रपतीय प्रतिस्पर्धामा भाग लिने प्रयास गरेका थिए। तर आर्थिक अपचलनको एउटा मुद्दामा संलग्न भएको ठहर गर्दै उनीलाई निर्वाचनमा सहभागी हुन दिइएको थिएन। आफूविरुद्ध लागेका आरोपहरू राजनीतिक रूपले प्रेरित रहेको उनी बताउँछन्।

ब्लगर पनि रहेका उनका समाजिक सञ्जालमा लाखौँ रुसी समर्थक छन् र उनका कतिपय समर्थकहरू साइबेरियाको स्थानीय परिषद्‌मा सन् २०२० मा निर्वाचित भएका थिए। उनको भिडिओलाई राष्ट्रपति पुटिनमाथि सीधा चुनौतीका रूपमा हेरिएको छ।
बीबीसीबाट साभार

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *