फिचर

ठडिँदै वसन्तपुरको गौरव

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ दरवार क्षेत्र(हनुमानढोका क्षेत्र)का ऐतिहासिक सम्पदाहरु एकपछि अर्को ठडिन थालेका छन् । गोर्खा भूकम्पले पूर्णरुपमा भत्किएको सम्पदाहरु अहिले तीव्ररुपमा पुनःनिर्माणका क्रममा छन् भने केही निर्माण सम्पन्न भइसकेका छन् ।  

यस क्षेत्रका २७ सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० सम्पदामध्ये १२ वटामा भूकम्पले क्षति गरेको थिएन । भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । 
 
अड्डाका कार्यालय प्रमुख सन्दीप खनालका अनुसार अहिले बनिरहेका सम्पदाको काम नसकी काम शुरु गर्न नमिल्ने भएकाले २० सम्पदाको काम अझै हुन सकेको छैन । हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ । दरबारको ६० प्रतिशत काम सकिएको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनर्निर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ । 

यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनर्निर्माण सम्पन्न भइसकेको छ । जगन्नाथ र गोपीनाथ मन्दिर वाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गत पुनर्निर्माण भइरहेको छ । नासलचोक पश्चिमको राणाकालीन सेतो भवन र नासलचोक तथा गद्दी बैठकबीचको भवन पनि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमार्फत पुनर्निर्माण भइरहेको छ । आगम्छे घर र शिव मन्दिर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको बताइएको छ । मोनकाली चोक, मूलचोक, नासल चोकलगायतको चोकहरु यहाँको अन्य महत्वपूर्ण सम्पदाहरु हुन् ।   

सर्वसाधारणका लागि गद्दी बैठक खोलिँदै 

भूकम्पका कारण क्षति भएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खोलिने भएको छ ।  पुनर्निर्माणपछि तत्काल खोल्ने भनिए पनि केही आन्तरिक तयारी गर्नुपर्ने भएकाले अझै केही समय लाग्ने बताइएको छ ।  अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले पुनर्निर्माण गरेको गद्दी बैठक २०७५ असारमा नै  नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गर्नुभएको थियो ।  

विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठक कक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको पालामा १९६५ सालमा वसन्तपुर दरबारमा युरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरिएको थियो । 

शुरुमा यो भवनमा विदेशी पाहुनाहरुसँग राजाको औपचारिक भेटघाट आयोजना हुन्थ्यो । राजा नारायणहिटी दरबारमा बस्न थालेपछि यसको प्रयोग कम हुँदै गयो । अहिले यसको प्रयोग राष्ट्रप्रमुखले जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्दा मात्र हुन्छ । 

काष्ठमण्डप पुनर्निर्माण ८५ प्रतिशतभन्दा बढी काम सकियो  

हनुमानढोका क्षेत्रको अर्को महत्वपूर्ण सम्पदाका रुपमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम पनि आगामी वैशाखमा सक्ने गरी भइरहेको छ । निर्माणको काम अन्तर्गत अहिले ८५ प्रतिशतभन्दा बढी काम सकिसकेको छ । ती ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण समितिलाई आवश्यकताअनुरुप रकम हस्तान्तरण गरिरहेको छ । पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ ।  

निर्माण अन्तर्गत अहिले अन्य काम सकी छानो छाउने तयारी भएको छ । त्यसका लागि आवश्यक पर्ने काठको अभाव भएकाले रौतहटबाट ल्याउने तयारी गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए । आगामी वैशाखसम्ममा निर्माण काम सक्ने लक्ष्य अनुरुप काम भइरहेको छ  । 

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो भन्ने इतिहासका पुस्तकहरुमा लेखिएको छ । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *