फिचर

एक वर्षमा भत्काएर सकिएन जयवागेश्वरी 

 काठमाडौँ।भूकम्पले भत्किएको तीन वर्षपछि पुनःनिर्माण शुरु भएको जयवागेश्री मन्दिर जगदेखि नै बनाउन भत्काउने क्रममा ऐतिहासिक एवं पुरातात्कि महत्वले युक्त संरचना फेला पर्न थालेको छ ।

बाहिर एउटै गजुर देखिने मन्दिर भत्काउने क्रममा भित्र तीनवटा गजुर फेला परेको थियो । ती गजुर अध्ययनका लागि करिब तीन महिना लागेको थियो । त्यसको अध्ययन सकेर भत्काउने क्रममा पुराना भित्तेचित्र भेटिएपछि थप अध्ययनका लागि थप समय लाग्ने मन्दिर पुनःनिर्माण सहजीकरण समितिका अध्यक्ष एवं पूर्वपुजारी मृत्युञ्जय कर्माचार्यले राससलाई जानकारी दिए ।

पुरातात्विक महत्वका आकर्षक भित्तेचित्र भेटिएपछि पशुपति क्षेत्र विकास कोष, पुरातत्व विभागलगायत सरोकार भएका निकायबाट गर्भ र जगको अध्ययन गर्नुपर्ने पत्र आएपछि काम रोकिएको उनले सुनाए । जीर्ण मन्दिर भत्काउन नै एक वर्ष समय लागेको छ ।

पालको भरमा मूर्ति छोपिँदा बेलाबेलामा हुने वर्षाका कारण जोगाउन मुस्किल भएको छ । जयवागेश्वरीको मूर्ति माटोबाट बनाई १२-१२ वर्षमा कलेबर फेर्ने गरिन्छ । माटोबाट बनेको मूर्तिमा धेरै पानी परेपछि जोगाउन गाह्रो हुने भएकाले पनि छिटो काम हुनुपर्ने पुजारी समूहको माग छ । मूर्ति पानीले बिग्रिएमा १२ वर्ष नपुगी फेरि अर्को बनाउन नहुने मान्यता रहेको ४४ वर्ष पुजारी भइसक्नु भएका कर्मचार्यले बताए ।

स्थानीय तह र स्थानीयवासीसँग समन्वय नगरी काम गर्दा पनि सानासाना समस्या फुकाउन अप्ठ्यारो भएको छ । काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष दीनेशकुमार डङ्गोल कोषले जनप्रतिनिधि निकायसँग समन्वय नगरी काम गर्दा छिटो हुन नसकेको बताउछन ।

कोषले भने विभागले अध्ययन गरिरहेकाले सकिने बित्तिकै काममा तीव्रता आउने जनाएको छ । कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा सम्पदा पुनःनिर्माण समय लिएर पहिलेकै स्वरुपमा गरिने बताउनुहुन्छ । केही समय ढिलाइ भए पनि दिगो काम हुनुपर्ने उनको भनाइ छ ।

विसं २०७५ पुसमा कोषले मन्दिर पुनःनिर्माणका लागि कोषसँग सम्झौता गरेको थियो । माघमा क्षमा पूजा गरी गत वर्ष फागुनदेखि भत्काउन शुरु भएको थियो । एक वर्ष पूरा हुँदासमेत भत्काएरसमेत नसकिएको मन्दिर कहिले सकिने हो निश्चित छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *