कला/साहित्य

‘बार वर्षपछि हनिमुन’ नियात्राको अनुपम उदाहरण

नियात्रा सङग्रह ‘बार वर्षपछि हनिमुन’ का लेखक डा. खगेन्द्रप्रसाद लुईंटेल हुन्।त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत डा.लुईंटेल वरिष्ठ समालोचक, भाषाविज्ञान, कोशविज्ञान विज्ञका रुपमा परिचित छन्। भाषासाहित्य, भाषाविज्ञान, कोषविज्ञान, लोकसाहित्य, डायस्पोरिक साहित्य तथा विशेषत समालोचना र निबन्धका क्षेत्रमा कलम चलाएका उनका दर्जनौं पुस्तकाकार कृतिहरु प्रकाशित छन् । नेपाली भाषा साहित्य क्षेत्रका उनी अनुसन्धाता नै हुन् । नेपाली भाषा साहित्य प्राथमिक तहदेखि उच्च तहसम्म सर्वप्रथम भई जेहनदार छात्रवृत्ति तथा विद्वत्वृत्ति प्राप्त गरेका डा.लुईंटेल पाठ्यक्रम विकास केन्द्र माध्यामिक नेपाली विषय समितिको सदस्य,नेपाल प्रज्ञा प्रतिष्ठान कोशनिर्माण समितिको सदस्य, गौहाटी विश्वविद्यालयको नेपाली स्नातकोत्तर कार्यक्रमको विशेषज्ञ—संयोजक तथा प्राज्ञिक सल्लाहकार परिषद्को सदस्यसमेत रहेका छन् । नेपाली समालोचनालाई प्रभाववादी कित्ताबाट बस्तुवादी कित्तामा पुर्‍याउन र त्यसलाई निरन्तरता दिन उनको विशिष्ट योगदान रहेको छ । त्यसैगरी नेपाली भाषा मानकिकरण अन्तर्राष्ट्रियकरण र विशिष्ठिकरण उनले महत्वपूर्ण योगदान दिएका छन् ।

भाषा साहित्य र शैक्षिक क्षेत्रमा उनले पुर्‍याएको अतुलनीय अनवरत योगदानको कदर स्वरुप महेन्द्र विद्याभुषण क श्रेणी, कृष्णा कुमारी गुरुङ स्मृति पुरस्कार, शिक्षा पुरस्कार, भगवती बुढाथोकी स्मृति पुरस्कार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार, नेपाल प्रहरी सम्मान, दीप जनमत सम्मान, सयपत्री राष्ट्रिय सम्मानका साथै नेपाल बाहिर असम साहित्य परिषद्, गौहाटी विश्वविद्यालयलगायत थुप्रै संघ—संस्थाहरुबाट सम्मानित भईसकेका छन् । कविता विधाका समेत विशेषज्ञ मानिने डा.लुईंटेल डायस्पोरिक, सांस्कृतिक लगायत नवीनतम समालोचना लेखन र खोजीमा क्रियाशील विशिष्ट व्यक्तिका रुपमा पनि चिनिन्छन् ।
साहित्य क्षेत्रमा विशिष्ट रुपमा समालोचक र विशेषज्ञ कविका रुपमा परिचित डा.लुईंटेलको प्रस्तुत कृति भने नियात्रा सङग्रह हो । जसलाई पैरवी प्रकाशनले वि.सं २०६८ सालमा प्रकाशन गरेको हो । नियात्रा सङग्रह ‘बार वर्षपछि हनिमुन’ बाट नियात्राकार बनेका उनले कृतिमा विभिन्न समयमा आफुले भ्रमण गरेका स्वदेश तथा विदेशी भूमिमा देखे भोगेका अनुभूतिहरुलाई चौधवटा विभिन्न शीर्षकमा भ्रमण वृतान्तको रुपमा लिपिवद्ध गरेर प्रस्तुत गरेका छन् ।
नियात्रा सङग्रह ‘बार वर्षपछि हनिमुन’ नियात्राकारले गरेको स्वदेशी तथा विदेशी क्षेत्रहरुको यात्रा वृतान्तको सँगालो हो । यात्राका अनुभव विवरणात्मक रुपममा मात्र उतारिए यात्रा विवरण बन्दछ, तर सोही यात्रालाई साहित्यिकता, कलात्मकता र रंगात्मकतामा भरियो भने त्यो नियात्रा बन्दछ । यसको अर्थ नियात्रा निर्माणको उद्देश्यले भ्रमण गर्नु भन्ने होइन । तर भ्रमणको विशिष्ट वर्णनको परिणामले नियात्राको निर्माण भने अवश्य हुन्छ । नियात्राकार यात्रा शुरु गर्छन् काठमाडौंदेखि नुवाकोटसम्म शीर्षक ‘महामण्डल साहित्ययात्रा’ । नियात्राकारले गरेको यो नितान्त साहित्यिक यात्रा नै हो । राजधानीबाट हिंडेका नियात्राकार साथीसहित यात्रसँगै उकालो चढेर नुवाकोटको महामण्डल डाँडामा पुग्छन् । त्यहाँबाट त्रिशुली बजार र त्रिशुली नदी वरिपरिका क्षेत्रको मनोरम दृश्य देखिन्छ । नुवाकोट आसपास र भ्रमण अनुभवलाई उल्लेख गर्दै काठमाडौं भित्रिएपछि महामण्डल साहित्यिक यात्रा पुरा हुन्छ । नियात्रामा साहित्यकारहरुको आफ्नो मात्र सुनाउने अरुको नसुन्ने र नेपालीहरुले समयको महत्वलाई ध्यान नदिने प्रवृत्तिमा व्यंग्य गरिएको छ ।
गोर्खा भ्रमणको यात्रालाई प्रस्तुत गरिएको छ शीर्षक ‘गोरखनाथ बाजेचाँही सकुशल रहेछन्’ । पटक पटक घुमिसकेको गोर्खा भ्रमणले यसपटक नियात्राको रुप धारण गरेको छ । पुनः साहित्यक कार्यक्रमकै निम्तो भएर होला यसपाली नियात्राकार गोर्खा घुमे । मनकामना माताको शेरोफेरो हुँदै नियात्राकारको समूह गोर्खा पुग्छ । गोरखा परिवर्तन भइसकेको छ, थुप्रै थोक भत्काइसकिएछ, राम शाहको सालिक जरैबाट उखेलेर मिल्काइएछ, यतिमात्र होइन नेपालको एकीकरण कर्ता विस्तारवादी शासक पृथ्वीनारायण शाहको सालिक पनि बाँकी राखिएनछ, दरबारमा पनि अर्कै बोर्ड झुन्ड्याइएछ । पहिले गोर्खा जाँदा ती सब थिए, यसपटक ती केही पनि थिएनन् । गोरखनाथको रोटो खाँदै नियात्राकार भावुक बन्नपुग्छन् र देशमा सवैकुरा राम्रो होस् भन्ने आशिर्वाद पाउने आश गर्छन् । सवै नियात्रा मध्ये यहीं सवैभन्दा बढी केन्द्रीत भइन्छ कि जस्तो अनुभव हुनजान्छ ।
‘बार वर्षपछि हनिमुन’ कृतिको नामाकरण पनि यसै शीर्षकबाट गरिएको छ । हनिमुन अर्थात् मधुमास, नवविवाहित दम्पतीहरुको लागि मोजमस्तीको समय । तर नियात्राकारको जीवनमा यो अवसर विहे भएको बाह्र वर्षपछि बल्ल जुरेको छ, चितवन जिल्लाको यात्रामा । त्यही पनि एउटा विशेष कार्यक्रमको माध्यमबाट । नियात्राकार सातदिन जति चितवनका विभिन्न स्थान घुम्छन् । तर अनौपचारिक समय औपचारिकता मै सकिन्छ, बार वर्षपछि जीवन संगिनीसँग पहिलो पटक थानकोट काटेको उद्देश्य अधुरै रहन्छ । केही निराशा जोड्दै आफ्नो सवैभन्दा आनन्दमय भ्रमणको रुपमा अनुभव भएको रोमाञ्चकतालाई नियात्राकारले प्रस्तुत गरेका छन् ।
नियात्रा भित्रको यात्रा यसैगरी अगाडि बढीरहन्छ । नियात्राकार स्वेदशका विभिन्न जिल्ला र क्षेत्रहरु हुँदै विदेशसम्म पनि पुग्दछन् र पुर्‍याउने कोशिस गरिरहन्छन् । भारतको पुर्वोत्तर राज्य असमको सानो शहर हो गुवाहाटी । हुनत गुवाहाटी यो नै पहिलो भ्रमण थिएन होला तर यस पटकको भ्रमण नियात्राकारको लागि खास बन्यो र वर्णन योग्य बन्यो । बस र रेल यात्रासँगै विशेष कार्यक्रमको निम्तोमा गुवाहाटी पुग्दा नियात्राकार रोमाञ्चित बनेका छन् । सिलगुडी, जलपायुगुडी, दार्जिलिङ्ग सवैतिर पुग्छन् । दार्जिलिङ्गबाट नेपाल तर्फ उस्तै पहाडी क्षेत्र देखिने देशै एउटै ‘सबै हाम्रै जस्तो लाग्ने, नजिक आएपछि मात्र छुट्टिने, के गर्नु ति अर्काकै भइगए…।’ पछिका दिनहरु अझ उनका लागि भ्रमणको काम नै पर्‍यो । गुवाहाटी विश्वविद्यालयले सम्बन्धन जुटाइदियो ।
नियात्राकार थुप्रै पटक गुवाहटी, असम लगायतका पुर्वोत्तर क्षेत्रका भारतीय राज्यहरु भ्रमण गरिरहन्छन् । नियात्राकार देश र विदेशी भूमीका विभिन्न यात्रा वृतात्नहरुलाई वर्णन गर्दै यात्रा साहित्य पूरा गर्छन् । नियात्रा संग्रहभित्र सविस्तार छन् तर सवै वृतान्त अभिव्यक्त गर्न भ्याइएन । धनगढीमा आतंक, तेह्र वर्षपछि तेह्रथुम टेक्दा, चितवन, सम्मान र मकरस्नान, वीरगञ्ज दर्शन : म्युजिक फउन्टेन, जन्तजानु भन्दा अन्त जानु नै राम्रो, गुवाहाटी यात्रा, सिलोङमा डायरी हराउँदा, दक्षिणयात्रा : महाजात्रा लगायत शीर्षकहरुमा । यि र यस्तै यात्रा वृतान्तहरुको बेजोड प्रस्तुती नियात्रा संग्रहका शीर्षकहरु भित्र समेटिएका छन् । स्वराष्ट्रपरक र मित्रराष्ट्रपरक गरी दूई खण्डमा नियात्रालाई विभक्त गरी देश र विदेशको भ्रमण शीर्षकलाई नियात्रा संग्रहमा प्रस्ट्याइएको छ ।
प्रस्तुत नियात्रा संग्रह ‘बार वर्षपछि हनिमुन’ नियात्राकार डा. खगेन्द्रप्राद लुईंटेलले सरल भाषाशैली अपनाएर सजिलै बुझ्न सकिने स्पष्टतालाई अक्षुण राखेर यात्रा वृतान्तलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन् । सरल भाषाशैलीलाई सहजै प्रस्फुटन गर्नसक्नु उनको विशेषता नै रहेको छ । बाह्र वर्षपछिको जीवन संगीनीसँगको यात्रा होस, गोर्खा भ्रमण गर्दा सवै पुराना संरचना भत्किएका प्रसंग, देशमा चर्किएको द्वन्द्वको अवस्थाबाट आक्रान्त अशान्तिपूर्ण अवस्था, तेह्र वर्षपछि तेह्रथुमका टेक्दा यि सवै प्रसंगहरुको वर्णनीय एकरुपतालाई केन्द्रीत गर्न सक्ने नामाकरण ‘बार वर्षपछि हनिमुन’ कृतिको शीर्षक चयन सार्थक, उचित र आकर्षक छ ।
यात्रा वर्णनलाई रंगात्मकता, चित्रात्मकता र रमणीयतालाई संयोजन गर्दै नियात्रामा उल्लेख गरेर नियात्राको अनुपम उदाहरण डा.लुईटेलले प्रस्तुत गरेका छन् भन्न सकिन्छ । यात्रा र साहित्यको अनुपम संयोग नै नियात्रा हो । आफूसँगै पाठकलाई रोमाञ्चक र कौतुहलता जगाउँदै र मेटाउँदै भ्रमण गराउन नियात्राकार सफल देखिन्छन् । एउटा सफल नियात्रामा हुनुपर्ने मुख्य विशेषता नै यही हो, जुन प्रस्तुत कृतिका नियात्राहरुमा पाइन्छन् । देश तथा विदेश भ्रमण गरेका स्थान विशेषका जानकारी, सामाजिक, सांकृतिक परिवेश र संस्मरणहरुलाई बेजोड रुपमा नियात्रामा डा. लुईटेलले प्रस्तुत गरेका छन् । नियात्रा संग्रह पठनीय कृति मात्र नभएर साहित्य क्षेत्रकै लागि नियात्राको एउटा अनुपम उदाहरीण प्रकाशित कृतिको हो भन्न सकिन्छ । प्रस्तुत कृतिले सुप्रसिद्ध समालोचक खगेन्द्रप्रसाद लुईंटेल, नियात्रामा पनि सशक्त ढंगले अघि बढेका छन् । ताना शर्मा र लैनसिंह वाङदेलजस्ता धुरन्धर यात्रा विश्लेषक हरुको पंक्तिमा उभिन आइपुग्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *