ताजा समाचार

ऐजेरुले गाँजिएको काँग्रेस

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा सहभागी हुने वा नहुने विषयलाई लिएर विकसित भएको घटनाक्रमले राजनीतिक तरंग पैदा गरेको छ । सभापति शेरबहादुर देउवाले विधानबमोजिम दुई महिनाभित्र गठन गर्नुपर्ने विभागहरू गठन नगरी महाधिवेशनको संघारमा संख्या समेत बढाई गठन गर्न खोजेको विषय र उक्त विभागहरूको संस्थामा आफ्नो पक्षको हिस्सेदारी कति हुने, तरुण दल र नेविसंघको गठन गर्दा कसरी भागवण्डा मिलाउने भन्ने सन्दर्भमा कुरा नमिलेपछि पौडेल पक्ष भनी चिनाइने रामचन्द्र पौडेलको समूहले केन्द्रीय समितिको बैठक बहिष्कार गरेको अवस्थामा पौडेल पक्षको मूख्य मागको रुपमा सार्वजनिक भएको केन्द्रीय महाधिवेशनको तिथि मिति घोषणा भएको छ । उक्त कार्य विधान विपरित भएकाले सच्याउन आवश्यक छ, सर्वसम्मत निर्णय गरेर महाधिवेशनमा जानुपर्छ भन्ने माग राखी भएका फरक फरक बैठक र त्यसको प्रचारवाजीले गर्दा काँग्रेस पार्टी र यसले हिजोदेखि लिएको वैचारिक पृष्ठभूमिसँग आफूलाई नजिक ठान्ने जनमत निराश बन्दै गएको छ ।

नेपाली जनताले पटक पटक गरेको विश्वासलाई नजरअन्दाज गरेको कारण पछिल्लो निर्वाचनमा नराम्रो पराजय व्यहोर्न काँग्रेस बाध्य भएको हो । २०५१ सालको मध्यावधि निर्वाचनको घोषणा र त्यसको परिणामले काँग्रेसलाई र मुलुकलाई धेरै कमजोर बनाएको हो । राजनीतिक अस्थिरताका लागि उक्त मध्यावधि निर्वाचन उवेर बनेको वास्तविकता नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूको समिक्षा र विश्लेषणमा कहिल्यै पर्न सकेको छैन । त्यस पश्चिातका सत्तारोहणले वास्तविक रुपमा लोकको सम्मान गर्न नसकेको तितो यथार्थ हाम्रो बीचमा छ । परिवर्तनका लागि नेपाली जनतालाई पटक पटक आग्रह गरिँदा गरिएका प्रतिबद्धता र दिइएको आश्वासनप्रति नेपाली काँग्रेस कहिल्यै इमान्दार भएन ।

जनताको विशवास र भावनामाथि खेलवाड गरेकै कारण जनताले दण्डित गरेका छन् भन्ने तथ्यलाई निर्मतापूर्वक स्वीकार नगरी आरोप प्रत्यारोपको रणनीति अख्तियार गरी नेतृत्वको तेजोबध गर्ने परम्परालाई निरन्तरता दिने विद्यालयबाट शिक्षित दिक्षितहरूले तदर्थवादमा नै काँग्रेसको नेतृत्व गर्नं खोजेको कारण समस्या जटिल बन्दै गएको छ ।
सन्त नेता कृष्णप्रसाद भट्टराईसमेत अपमानी भएर सिंहदरबारबाट/बालुवाटारबाट बाहिरिनु परेको दृष्टान्त सबैको विस्मृतिमा गउको छैन होला । सर्वोच्च नेता गणेशमान सिंहले यी र यस्तै धेरै घटना र कारणहरूकै कारण पार्टी नै परित्याग गरेको इतिहास पनि सुरक्षित नै छ ।

गणेशमान र कृष्णप्रसाद भट्टराईलाई समेत अमापन र बदनाम गरी काँग्रेस पार्टी कब्जा गर्न खोज्ने र गर्ने प्रवृत्ति यो वा त्यो रुपमा क्रियाशील नै छ । त्यो प्रवृत्ति राष्ट्रिय नभई अन्तर्राष्ट्रिय तत्व पनि थियो । त्यतिबेला गणेशमान र कृष्णप्रसादलाई अपमान र बदनाम गराउन दरबारीया शक्ति समेत लागेको स्पष्ट नै छ । हिजो लोकतान्त्रिक आन्दोलनलाई कमजोर बनाउन क्रियाशील भयो, आज लोकतान्त्रिक व्यवस्था र शक्तिलाई कमजोर र बदनाम गर्न सक्रिय छ । त्यसमा शक्ति केन्द्रसँगको सामिप्यतामा रहेर कुनै न कुनै किसिमले सत्ताको सयर गरेको वर्ग जो काँग्रेसमा पनि रहेको छ, उनीहरू पार्टी कब्जा गर्ने उद्देश्यका साथ सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भिडाएर आफू स्थापित हुन चाहन्छन् ।

आफ्नाे सम्पूर्ण जीवन काँग्रेसमा उत्सर्ग गरेका र आफूलाई भोलिको सम्भावनायुक्त नेतृत्वको रुपमा प्रस्तुत गर्न चाहेका व्यक्तिहरू समेत गुटबन्दीको शिकार भएको देख्दा अचम्म लाग्छ । राष्ट्रिय यथार्थता एवं आवश्यकताका आधारमा नेपाली काँग्रेसको दृष्टिकोण प्रस्तुत गर्न एक ठाउँमा बस्नु पर्ने व्यक्तिहरू समेत गुटबन्दीको आन्तरिक राजनीतिक बन्दी भएका छन् । आउने अधिवेशनमा आफ्नो भूमिका खोज्नेहरूले समाधान दिन चाहेका छैनन् । शेरबहादुर देउवाको कारण समस्या आएको हो त्यो भन्दा अघि र यसपसिछ काँग्रेस ठीक हुनेछ र थियो भन्ने सोच र दृष्टिकोणबाट ग्रस्त व्यक्तिहरूले त्यही किसिमको प्रचार गरेका छन् । जुन सत्य होइन । समस्या आज एक्कासी आएको होइन, थपिएको मात्र हो । क्षमता नभउका राजनीतिक व्यवसाय चलाएका, बिहान बेलुका नेताहरूको ढोकाढोका चहारेका विश्वविद्यालयको कक्षा कोठामा कहिल्यै नछिरेका व्यक्तिहरूको निरन्तरको संवाद र सम्पर्कबाट गुज्रिएको नेता भनाउँदाहरूको भूमिका र व्यवहारले इमान्दार, निष्ठावान, क्षमतावान नेता कार्यकर्ताहरू क्रमशः काँग्रेसका प्रति उदासिन देखिन थालेका छन् ।

यो दीर्घकालीन प्रभाव छाडेर महत्वपूर्ण तत्व हो भन्ने ज्ञान नेतृत्वलाई छैन । उनीहरूको कुनै खास दृष्टिकोण पनि छैन । आफ्नो आज भएको पद र स्थान सुरक्षित गर्न मात्र उनीहरूको तत्कालिन आवश्यकता हो । यस्तो प्रवृत्तिसँग निकट भएर काम गर्न चाहनेहरूको प्रभाव र प्रभुत्व पार्टीभित्र र बाहिर रहेको छ ।

शेरबहादुर, रामचन्द्र, कृष्णप्रसाद वा अरु कोही समस्या हुन् भने समाधान हामी हौं, हामीले नेपाली काँग्रेसलाई यस्तो बनाउन चाहेका छौं, भन्ने दावी र दृष्टिकोणसहित कोही व्यक्ति वा समूह अगाडि देखापरेको अवस्था हुनुपथ्र्यो । त्यो पनि नहुने, आँट र सासह नदेखाउने अनि शक्ति केन्द्रको इशारामा नाच्ने प्रवृत्तिलाई नेपाली काँग्रेसका इमान्दार कार्यकर्ताले पहिचान गर्न सक्नुपर्छ । जहिले पनि सस्तो लोकप्रियतावादी कुरा गरेर मत जित्नेहरूलाई कठघरामा उभ्याउन नसक्दा आज शेरबहादुर, भोलि रामचन्द्र वा अन्य कोही व्यक्ति वा नेतृत्वलाई खराब देखाए ।

आफ्नो निहित स्वार्थ पूरा गर्ने प्रवृत्तिले काँग्रेसलाई सधैं कमजोर र बदाम गराउनेछ । हिजोका दिनमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता ऐतिहासिक व्यक्तित्वहरूलाई बदनाम गराउने र पार्टीभित्र र सरकारबाट गलहत्याउने प्रवृत्ति पनि एउटै हो । भट्टराईलाई चुनाव हराउनेरु आज अरुलाई सिकाइरहेका छन् । भट्टराईलाई चुनाव हराउनु हुँदैन, यसले गलत परम्परा बस्दै जान्छ र पार्टी, विचार तथा लोकतान्त्रिक मूल्य पद्दति समाप्त हुन्छ भन्ने हामी जस्ता व्यक्तिहरूलाई सार्वजनिक स्थानमा नै सत्ताको संरक्षण र लगानीमा कुट्नेहरू आज काँग्रेसमा हावी छन्, स्थापित छन् र हामीहरूलाई अर्ति उपदेश दिन लागि पर्दछन् । यो भन्दा टिठलाग्दो विडम्बना के होला ?

त्यसैले शेरबहादुर, रामचन्द्र मिल्दा पनि यस्तै हो, नमिल्दा पनि यस्तै हो । अस्थिरता चाहनो र आफ्नो स्वार्थलाई स्थायी र केन्द्रीय विषय बनाउने प्रवृत्तिबाट पार्टीलार्य बचाउन सक्ने नेतृत्व नभएसम्म यस्तै अवस्थाले निरन्तरता पाउँछ । कुनै न कुनै किसिमले परिक्षणमा परिसकेका, सत्ता स्वार्थ र शक्ति केन्द्रको इशारामा चल्ने, आफ्नो स्वार्थकालागि चरम गुटबन्दी गर्ने, बिहान बेलुका नेतृत्वको ढोका धाएर आफ्नो व्यवसाय चलाउने, ठेकेदारी प्रथा, पैसा, बाहुबल, गुन्डागर्दीलाई आधार बनाएर मूल्यांकन पद्दति समाप्त गर्ने, इमान्दार निष्ठावान नेता र कार्यकर्ता सधैं किनारामा रहने अवस्थामा नेपाली काँग्रेसको प्रभाव सकारात्मक, रचनात्मक तथा प्रभावकारी हुने सम्भावना ज्यादै न्यून छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *