मनोरञ्जन

पारस र दिव्याको ‘बेहुली’ तीजमा रिलिज हुने

काठमाडौँ ।ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा–अर्चना गर्दै नयाँ नेपाली चलचित्र ‘बेहुली’ को शुभमुहूर्त सम्पन्न गरिएको छ ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यस चलचित्रको मुहूर्तसँगै छायाङ्कन र प्रदर्शन मिति घोषणा गरिएको हो ।

निर्माता अर्जुन पोखरेलका अनुसार यसै साताबाट छायाङ्कन सुरु हुने चलचित्र आगामी वर्ष हरितालिका तीजको अवसर पार्दै भदौ १२ गते प्रदर्शनमा आउनेछ ।

नेपाली सुगम तथा चलचित्र सङ्गीतमा सफल संगीतकारका रूपमा स्थापित पोखरेल ‘बेहुली’ मार्फत पहिलो पटक चलचित्र निर्माणमा आएका हुन् । उनले यस फिल्मको संगीत निर्देशन पनि आफैंले सम्हालेका छन् ।

प्रताप राणाको निर्माण रहेको चलचित्रको निर्देशन सशान कँडेलले गर्दैछन् भने कथा माधव शर्माले लेखेका हुन् । निर्देशक कँडेल र लेखक शर्मा यसअघि होस्टेल ३मा सहकार्य गरिसकेका छन् ।

चलचित्रमा पारस बम ठकुरी मुख्य नायकका रूपमा देखिनेछन् भने अभिनेत्री दिव्या रायमाझीसँग उनको जोडी बाँधिएको छ । अनुभवी अभिनेता सुशान्त कार्कीको पनि महत्वपूर्ण भूमिका रहनेछ ।

यसका साथै पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहनेछ ।

चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गर्नेछन् भने सम्पादन विकास दाहालले गर्नेछन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठले सम्हाल्नेछन् ।

‘बेहुली’ लाई काठमाडौँ उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने डिजिटल अधिकार OSR Digitalले लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *