मनोरञ्जन

वर्ष २०८१ नेपाली चलचित्रका लागि सुखद, ‘पूर्णबहादुरको सारङ्गी’ ले रच्यो इतिहास

काठमाडौँ । वर्ष २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा सुखद रह्यो। यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा रु ४६ करोड ८० लाख (ग्रस) व्यापार गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम (बक्स अफिस)’ को तथ्याङ्कले देखाउँछ। यही कारण विसं २०८१ नेपाली चलचित्रको इतिहासमा स्मरणयोग्य बनेको छ।

गत चैत २९ गते ‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा आएसँगै यो वर्ष बक्सअफिसको तथ्याङ्क अनुसार ६२ नेपाली चलचित्र प्रदर्शन भएका छन्। यस अवधिमा ८४ विदेशी चलचित्र पनि प्रदर्शन भए। नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले यो वर्ष नेपाली चलचित्रका दर्शक उल्लेख्य रूपमा बढेको बताए।

उनले भने, “यो वर्ष दसैँ र तिहारमा प्रदर्शन भएका चलचित्रले दर्शकलाई चलचित्र भवनमा तान्न सफल भए। स–परिवार नै चलचित्र हेर्न आएको पाइयो। पारिवारिक चलचित्रले दर्शक बढाउन महत्त्वपूर्ण भूमिका खेलेको जस्तो लागेको छ। यस वर्षको सफलताले आउँदो वर्ष चलचित्र निर्माणमा वृद्धि हुनेछ।”

उनले चलचित्र भवन सञ्चालकहरूले यसवर्ष १८ घण्टाभन्दा बढी काम गरेको बताए। वर्षको अन्त्यमा प्रदर्शन भएका चलचित्रले पनि राम्रो सुरुवात गरेका छन्।

निर्देशक पुर्नेन्दु झा आगामी वर्ष २०८२ को सुरुवाती दिन वैशाख १ गते समग्र चलचित्रको व्यापार राम्रो हुनेमा आशावादी छन्। उनले आउँदो वर्ष नेपाली चलचित्रका लागि महत्त्वपूर्ण भएको बताए।

“यो वर्ष प्राप्त सफलताले नयाँ र पुराना दुवै चलचित्रकर्मीको सक्रियता निर्माणमा बढेको छ, आउँदो वर्ष ती चलचित्रकर्मीले चलचित्र लिएर दर्शकसम्म आउनु हुनेछ। नयाँ दर्शकलाई आकर्षित गर्न सके आउँदो वर्ष नेपाली चलचित्रले नयाँ सुरुवात गर्नेछ। यो वर्षको व्यावसायिक सफलतालाई नाघ्नु नै चुनौती देखिएको छ,” निर्देशक झाले भने।

उनले आगामी वर्ष २०८२ ले यस वर्ष बनेको बजारको आकार बढाउन सक्नुपर्नेमा जोड दिए। चलचित्रकर्मीहरूले आउँदो वर्ष २०८२ मा ८० हाराहारीमा चलचित्र प्रदर्शन हुने अनुमान गरेका छन्।

बक्सअफिसको तथ्याङ्क अनुसार ५९ नेपाली चलचित्रले कुल रु एक अर्ब ८० करोड कमाएका छन्। तथ्याङ्क आउन बाँकी रहेका तीन चलचित्र ‘वसन्त’, ‘पिताम्बर’ र ‘कर्मा’ सहित प्रदर्शनरत अन्य नेपाली चलचित्रको व्यापार (ग्रस) पाँच करोड भएको अनुमान चलचित्रकर्मीको छ। यस आधारमा नेपाली बजारको आकार रु एक अर्ब ८५ करोडको हाराहारीमा पुगेको अनुमान गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *