मनोरञ्जन

एक्सन स्टार निखिलको ‘सम्बोधि’ रूप

काठमाडौं । अभिनेता निखिल उप्रेतीले पाएको अर्को उपनाम हो, एक्सन स्टार । उनले डेब्यु फिल्ममै सात तल्ले भवनबाट हाल फाले, जसले निकै चर्चा पायो ।’ त्यो समयमा अहिलेको जस्तो सेफ्टी युज हुन्थेन । अनि जे गरिन्थ्यो, आफ्नै रिक्समा गरिन्थ्यो’ निखिल त्यो समय सम्झन्छन्। त्यसपछि पनि उनले एक्सनमा नयाँ आयाम ल्याउन थाले । उनका फिल्ममा एक्सनको नयाँपन हुने भएकाले दर्शक प्रतिक्षित हुन थाले । उनले नेपाली फिल्ममा एक्सनको ट्रेण्डलाई नै परिवर्तन गरे । त्यसैले गर्दा उनलाई दर्शकले एक्सन स्टारको ट्याग दिए ।


डेब्यु फिल्म ‘पिंजडा’ मा एक्सन स्टारको रुपमा प्रस्तुत भएपछि उनलाई फिल्मको अफर आइरह्यो । विशेषत: फिल्म रिलिज भएपछि उनलाई अफर आएको हो । आफूलाई अभिनयमा जिरो मान्ने निखिलले कलाकार बन्ने कल्पनासमेत गरेका थिएनन् । ‘अभिनय गर्ने त परिकल्पना नै थिएन, किनकि म नाटक पनि हेर्न सक्ने थिइन,’ निखिलले भने । फिल्मनगरीसम्म पुग्ने बाटो खोजिरहेका उनी बाल्यकालमा ज्याकी चेन र ब्रुस लीको फिल्म हेर्ने गर्थे र एक्सन प्राक्टिस गर्थे ।


‘मलाइ सिक्ने एकदमै रहर छ, त्यसैले होला म निकै जिज्ञासु छु,’ उनले भने । उनले मार्सलआर्ट र तेक्वान्दो सिकेका छन्, त्यसैले पनि एक्सन गर्न रुचाउँथे । स्कुल शिक्षा सर्लाहीमै गरेका निखिल पढाइको क्रममा वीरगन्ज हुँदै काठमाडाै‌ आए । काठमाडाै‌ आएपछि उनी फिल्मलाई बुझ्न मुम्बई लागे । ‘काठमाडाै‌मा सम्पर्क थिएन, त्यसैले मुम्बईमै कोसिस गरौँ भनेर त्यता गएको हुँ’ उनले भने ।

मुम्बईमा स्ट्रगल गरेका निखिल बेलाबखतमा घर आउँथे । उनी काठमाडाै‌मा बस्ने घरमै पवन मैनाली पनि थिए । दुवै सर्लाहीकै भएकोले सामान्य चिनजान थियो नै । निखिलले एक्सनमा गरिरहेको मेहनत देखेर पवनले भनेका थिए, ’मैले फिल्म बनाए भने तिमीलाई लिन्छु, किनकि तिमी एक्सनमा निकै मेहनती छौँ ।’ मुम्बईमा रहँदा अचानक एकदिन निखिललाई पवनले फिल्म अफर गरे ।

उनले पिंजडा गर्नु अगाडि नै उनले बलिउड तथा साउथका केही फिल्ममा प्राविधिकको रुपमा अनुभव संगालिसकेका थिए । ‘त्यो बेला केही नयाँ गर्ने प्रयास गरेको हुँ, त्यसका लागि मेहनत गरेको हुँ,’ निखिल भन्छन्,’प्रत्येक फिल्ममा केही नयाँ एक्सन गरौँ भन्ने लाग्थ्यो त्यसक्रममा धेरै घाइते भएको छु ।’ उनकै भाषामा भन्ने हो भने नभाँचिएको कुनै हड्डी छैन ।

पिंजडा हुँदै मायाको जाल, शिवशक्ति, कर्तव्य, कुरुक्षेत्रलगायतका फिल्म गर्दैगर्दा निखिलको व्यस्तता बढ्यो । उनले एक्सनकै लागि पनि फिल्म गर्न थाले । उनले विस्तारै गुणस्तरीयता न्दा पनि संख्यमा बढाए । ‘त्यो बाध्यता थियो । किनकि मैले आफूलाई निकै मेहनतले त्यहाँसम्म पुर्याएको थिए । अनि मेरो सानो उपस्थितिले कुनै निर्माताको लगानी सुरक्षित हुन्छ भने त्यो गर्नु मेरो कर्तव्य थियो’ निखिलले भने ।

आफू पहिलोपटक निर्माता बनेको फिल्म ‘सावधान’ मा तत्कालीन समयमा उनले एक्सनमा केही फरकपन ल्याएका थिए । गीतका लागि भिएफएक्स गरिएको थियो । त्यो समयमा उनले फिल्मको काम भिएफएक्स र द्वन्द्वकाे तार मेटाउनेलगायतको प्राविधिक काम अष्ट्रेलियामा गराएका थिए । उनले निर्देशनमा डेब्यु गरेको फिल्म ‘भैरव’ को सिक्वेल बनाउने तयारी चर्चा पनि नचलेको होइन ।

यद्पि पछिल्लो समय निखिल फिल्मभन्दा पनि अत्याध्मतर्फ लागेका छन् । सफाचट व्यक्तित्व बनाएका निखिल पछिल्लो समय लामो दाह्री र कपालमा प्रस्तुत छन् । उनले फिल्मभन्दा पनि अत्याधमतर्फ आफूलाई मोडेको आरोप लाग्ने गरेको छ । यद्दपि उनी फिल्ममा पनि छिटै आउने बताउने गर्छन् । नेपाली दर्शकमार्फत ‘एक्सन स्टार’ को ट्याग पाएका निखिलको ‘सम्बोधि’ रूप यतिबेला दर्शकमाझ परिचित छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *