काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का दक्षिण भारतीय चलचित्रमा अनुबन्ध भएकी छन् । उनले अभिनय गर्ने चलचित्रको नाम हो ‘थिरिमाली’ । चलचित्र काठमाडौं र मुस्ताङमा सुटिङ हुनेछ ।
हालै काठमाडौंको एक तारे होटलमा अभिनेत्री खड्का र चलचित्र निर्माण पक्षबीच सम्झौता भएको छ । हाल ‘चिसो मान्छे’ सुटिङ गरिरहेकी स्वस्तिमाले लगत्तै साउथ चलचित्रको छायाँकन थाल्नेछिन् ।
दक्षिण भारतीय चलचित्रबाट धेरै कुरा सिक्न र करिअरलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् । राजिव सेट्ठीले निर्देशन गर्ने यो चलचित्रलाई दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज् र नेपालको तर्फबाट अनन्या फिल्मस्ले निर्माण गर्नेछन् ।
चलचित्रमा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्माको मुख्य भूमिका रहनेछ । नेपालबाट स्वस्तिमा, माओत्से गुरुङ र केही थिएटरका कलाकारको अभिनय रहने छ ।




