काठमाडौं । नेपाली संगीत क्षेत्रमा गायिका इन्दिरा जोशी निकै चर्चित छिन् । आफ्नो सुन्दरताका साथै सुमधुर स्वरका कारण पनि इन्दिराको चर्चा दिनप्रतिदिन बढ्ने गरेको छ ।
अझ गायन रियालिटी शो ‘नेपाल आइडल’को जज बनेपछि उनका प्रशंसक झन् बढेको छ । यतिबेला भने इन्दिरा आफू प्रेममा रहेको खुलासापछि चर्चामा आएकी छन् ।
इन्दिराले आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाएकी छन् । उनले सामाजिक सञ्जालमा एक तस्वीरसहित आफू दुई वर्षदेखि प्रेममा रहेको खुलासा गरेकी हुन् ।
प्रेमीको हात समाएको तस्वीर राख्दै उनले लेखेकी छिन्, ‘मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ वर्षदेखि एकसाथ छौं र अझै कैयौं वर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौँ । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौँ ।’ इन्दिराले प्रेमीको तस्वीर सार्वजनिक गरेकी छैनन् ।




