काठमाडौं । भारतीय मिडिया जी न्युज च्यानलका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथामा भारतले दाबा गर्नुपर्ने र नाम ‘माउन्ट सिकदर’ राख्नुपर्ने भनेर कार्यक्रम बनाएपछि यसबारे नेपालमा व्यापक प्रतिक्रिया र आलोचना भइरहेको छ । खासगरी सत्तारुढ नेकपाइतरले चौधरीको सो कार्यप्रति आपत्ति जनाएका छन् । तर, प्रधानमन्त्री केपी ओली समर्थक र सो पार्टीका नेता कार्यकर्ता भने बचाउमा लागेका छन् ।
चौधरीको सो प्रयासबारे हरेक क्षेत्रबाट टीकाटिप्पणी भइरहेको छ । यसैक्रममा कलाकार निर्माता दीपकराज गिरीले यो घटनाप्रति प्रधानमन्त्री ओली र भारतीय पत्रकार चौधरीप्रति कटाक्ष गरेका छन् । उनले सुरुमा जी न्युजमा आएको अन्तर्वार्ताले प्रधानमन्त्रीको हाइट बढाएर गएको र जाँदाजाँदै यस्तो अग्लो प्रधानमन्त्री हुँदाहुँदै सगरमाथा किन चाहियो भन्दै सगरमाथामा दाबा गरेर गएको भन्दै व्यंग्य गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, जी न्यूज आयो प्रधानमन्त्रीको हाइट बढाएर गयो, यति अग्लो प्रधानमन्त्री तिमिहरूको हुदॉहुँदै सगरमाथा किन चाहियो तिमिहरूलार्इ भन्दै सगरमाथामा आफ्नो दाबा पनि ठोकेर गयो ।’




