काठमाडौं । पछिल्लो समय युट्युबमा रिलिज भएका नेपाली चलचित्र निकै रुचाइएका छन् । नेपाली चलचित्र हलमा रिलिज नहुँदा युट्युबमा चलचित्र हेर्ने दर्शकको संख्या बढेको छ । यसअघि ‘प्रेमगीत २’ राम्रै चलेको थियो ।
यतिबेला भने दुई सातादेखि ‘छक्का पञ्जा ३’ ले बजार तताइरहेको छ । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको यो चलचित्रले युट्युबमा सार्वजनिक भएको १७ दिनमै एक करोड भ्युज पाएको छ ।
चलचित्रले सबैभन्दा छोटो समयमा युट्युबमा एक करोड पटक हेरिएको रेकर्ड पनि राखेको छ । डिसेम्बर २३ मा युटुबमा रिलिज भएको चलचित्रले जनवरी ९ तारिखमा एक करोड भ्यूज पार गरेको हो ।
दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाईलगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले हलमा पनि झन्डै २० करोडको व्यापार गरेको थियो ।




