काठमाडौं । पुराना अभिनेता शिव श्रेष्ठ अहिले तनावमा परेका छन् । लामो समयपछि आफ्ना छोरालाई लिएर बनाएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज गर्न नपाएपछि उनी तनावमा परेका हुन् ।
अभिनेता श्रेष्ठले आगामी माघ १ गतेदेखि ‘एउटा यस्तो प्रेम कहानी’ रिलिजको घोषणा गरेका थिए । तर, सरकारले अर्को निर्णय नभइञ्जेलसम्म नयाँ चलचित्र रिलिज नगर्न दबाब दिएपछि चलचित्र विकास बोर्डले ‘एउटा यस्तो प्रेम कहानी’ नचलाउन भनेको छ ।
केही दिनअघि मात्रै उच्चस्तरीय कोभिड नियन्त्रण समितिले सिनेमा हल खुला गर्ने निर्णय गर्न जिल्ला समितिलाई अधिकार दिएको थियो । सरकारले अहिलेसम्म मन्त्रिपरिषद् बैठकबाट मनोरञ्जन क्षेत्र खुला गर्ने निर्णय गरिसकेको छैन । त्यसैले पनि शिव श्रेष्ठको चाहनामा धक्का लागेको हो ।
सञ्चार मन्त्रालयले दबाब दिएका कारण विकास बोर्डले चलचित्र रिलिजमा रोक लगाएको हो । सञ्चार सचिव हरिप्रसाद बस्यालले बोर्ड अध्यक्ष दयाराम दाहाललाई मन्त्रिपरिषद् निर्णय नहुँदासम्म नयाँ चलचित्र सेन्सर र रिलिज नगर्न निर्देशन दिएका छन् ।
सरकारले नयाँ चलचित्र रिलिजमा रोक लगाउने बताएपछि चलचित्र संघले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ । संघका सदस्य गोपाल कायस्थ र देवेन्द्र खड्गीले सरकारविरुद्ध थप कडा आन्दोलनका कार्यक्रम घोषणा हुनसक्ने बताएका छन् ।




