काठमाडौं । इन्डोनेसियाको बालीमा प्रेमी देवांश राणासँगको अन्तरंग तस्बिर सार्वजनिक भएपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह निकै विवादमा तानिइन् । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिकाको यस्तो तस्बिर सामाजिक सञ्जालमा आएपछि उनको फ्यान फ्लोइङ ह्वात्तै घट्यो ।
प्रेमी मयंक खड्कासँगको लामो प्रेम सम्बन्ध टुटेपछि साम्राज्ञीले देवांश राणासँग सम्बन्ध अघि बढाएकी थिइन् । वीरगन्ज स्थायी घर भएकी साम्राज्ञीका प्रेमी देवांश राणा नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाका छोरा हुन् । तर, अहिले अभिनेत्री साम्राज्ञी र देवांशबीच ब्रेकअप भएको चर्चा चलचित्र क्षेत्रमा चलेको छ । ब्रेकअपको हल्लालाई साम्राज्ञीको सामाजिक सञ्जालका गतिविधीले पनि पुष्टि गर्छन् ।
दुई तीन महिनायता साम्राज्ञीको सामाजिक सञ्जालमा देवांशको उपस्थिति शून्य छ । खासगरी साम्राज्ञीको इन्स्टाग्राम स्टोरीमा देवांशको तस्बिर देखिने गथ्र्यो । तर, हिजोआज देवांश त्यता देखिएका छैनन् ।
साम्राज्ञीले सामाजिक सञ्जालमा रहेका देवांशसँगका सबै तस्बिर हटाएकाले पनि दुईबीच ब्रेकअप भएको हल्लालाई पुष्टि गरेको छ । मयंक खड्कासँगको सम्बन्ध तोडेर देवांशसँग सम्बन्ध बढाएकी साम्राज्ञीले देवांशसँग विवाह गर्न लागेको चर्चा चल्न थालेको थियो ।
आधा दर्जन चलचित्रमा अभिनय गरेकी साम्राज्ञी अहिले ‘रेड वाइन’ खेल्ने तयारीमा छिन् । केहीअघि भुवन केसीसँगको लफडाका कारण साम्राज्ञी निकै तनावमा परेकी थिइन् । अहिले पनि सो मुद्दा टुंगिसकेको छैन ।




