काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा अब टेलभिजन कार्यक्रम प्रस्तोता बन्ने भएका छन् । आगामी माघ ७ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘ऐना’ कार्यक्रमको सञ्चालन शर्माले गर्न लागेका हुन् ।
द होराइजन मल्टिमिडियाले निर्माण गर्ने सामाजिक विषयवस्तुमाथिको टेलिभिजन कार्यक्रम ‘ऐना’ बारे बिहीबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइयो ।
नेता शर्माले सञ्चालन गर्ने कार्यक्रम ऐना २६ अंकको रहनेछ । एक घण्टा समायवधिको कार्यक्रम ऐना कान्तिपुर टेलिभिजनबाट हरेक बुधबार राति ९ बजे प्रसारण हुनेछ ।
पत्रकार सम्मेलनमा कार्यक्रम ऐनाको शीर्ष गीत समेत सार्वजनिक भयो । देशका अधिकांश भूभागमा पुगेर विभिन्न सामाजिक घटनाका पात्रहरुलाई भेटी छायांकन गरिएको गीतमा मानवीय संवेदना र प्राकृतिक सुन्दरतालाई समेटिएको छ । चर्चित कवि श्रवण मुकारुङले रचना गरेको शीर्ष गीतमा सुगम पोखरेलको स्वर र मोहित मुनालको संगीत छ ।
पत्रकार सम्मेलनमा कार्यक्रम ऐनाले समेट्ने विषयलाई छोएर शिल्पी थिएटरको समूहले नाटक समेत मञ्चन गरेको थियो । कार्यक्रम ऐनाका प्रोजेक्ट हेड राधाकृष्ण धितालले राजनीतिक व्यक्तित्वलाई सामाजिक र मानवीय मुद्दामा जोड्नुका साथै समाजका विविध घटनासँग प्रत्यक्ष साक्षात्कार गराउन पनि विश्वप्रकाश शर्मालाई कार्यक्रम प्रस्तोताका रुपमा आग्रह गरिएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै प्रस्तोता शर्माले समाजका विविध घटनाको गहिराइमा पुगेर मानवीय संवेदनालाई छुने गरी तयार भइरहेको कार्यक्रम ऐनाको हिस्सा बन्न पाउँदा आफूलाई गर्व लागेको बताए ।
शर्माले सामाजिक मुद्दाका सवालमा देशमा दुईवटा चित्र रहेको र त्यसलाई ऐनाले छर्लङ्ग देखाउनेमा आशावादी रहेको बताए । देश विकासको कुरा गर्दा भौतिक बिकास र व्यवस्थामा परिवर्तन आउने तर समाजका मुद्दा ज्यूकात्यूँ रहने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए ।
कार्यक्रम ऐनाको निर्देशन अमनप्रताप अधिकारीले गर्नेछन् । कार्यक्रमको प्रोड्युसर जनक पौडेल हुन् भने अनुसन्धान प्रमुख प्रकाश लामिछाने र स्क्रिप्ट राइटर आन्विका गिरि हुन् । यस्तै, कार्यक्रमकोअनुसन्धान टिममा भानु बोखिम, महाविर विश्वकर्मा, मनिका खतिवडा र लक्ष्मी नेपाल छन् ।




