काठमाडौं । कोरोना महामारीकै बेला धमाधम नयाँ सिनेमाको सुटिङ हुन थालेको छ । सरकारले अहिलेसम्म मनोरञ्जन क्षेत्र खुल्ला नगरे पनि स्वतस्फुर्त रूपमा सुटिङ गर्न थालिएको हो ।
यतिबेला आधा दर्जन सिनेमा सुटिङको चरणमा छन् । जसमध्ये एक हो, ‘कृष्ण–लीला’ ।
दशै अघि नै निर्माण घोषणा भएको यो सिनेमाको शुक्रवारबाट छायाँकन शुरु भएको छ । झापाबाट सुटिङ थालिएको चलचित्रको अहिले इलामको विभिन्न चियाबगानमा सुटिङ भइरहेको छ ।
दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको सिनेमाको सुटिङ ‘कुनै दिन यस्तो पनि जिन्दगानी..’ बोलको रोमान्टिक गीतबाट सुरु भएको छ । सो गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीले अभिनय गरेका छन् ।
अन्जु पन्त र सुगम पोखरेलको स्वर र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानले गरेका हुन् । आरआर फिल्मसको ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण–लीला’ मा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारको अभिनय रहनेछ ।




