मनोरञ्जन

आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’, निर्देशक बलिउडका प्रवीण झा

काठमाडौं । नेपाली चलचित्र ‘डिसेम्बर फल्स’ बन्ने भएको छ । चलचित्रबारे शनिबार राजधानीमा एक कार्यक्रम गरी जानकारी दिइयो । चलचित्रमा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकार अनुबन्ध भइसकेका छन् । अभिनेत्रीको खोजी भइरहेको कार्यकारी निर्माता लक्ष्मण रिजालले जानकारी दिए ।
सस्पेन्स लभस्टोरी चलचित्रलाई भारतीय टेलिभिजन तथा फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्नेछन् । ‘डिसेम्बर फल्स’को छायांकन बलिउडका छायाकार रवि नायडुले गर्नेछन् । कार्यकारी निर्माता लक्ष्मण रिजालले अलि फरक तरिकाले काम गर्ने सोचअनुरूप निर्देशक र छायाकार बलिउडबाट चयन गरिएको जानकारी दिए ।
‘डिसेम्बर फल्स’को कथा बिपिका खनालले लेखेकी हुन् । पटकथा र संवाद भने केदार भुसालले तयार पारेका हुन् । बिपिका पेसाले नर्स हुन् । चलचित्रमा बिरामीको उपचारमा संलग्न नर्सले भोग्नुपरेका विविध घटना, समस्यासमेत समावेश हुने बताइएको छ । आगामी १ साउनमा रिलिज डेट तोकिएको ‘डिसेम्बर फल्स’को संगीत दीपक शर्मा र कोसिस क्षेत्रीले तयार पारेका छन् । चलचित्र काठमाडौं र पोखरामा खिचिनेछ । आफूलाई चलचित्रको स्क्रिप्ट मन परेकाले अभिनय गर्न तयार भएको अभिनेता आर्यन सिग्देलले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *