उफ !
अमिलो पसिना
ढाडमा बोराको बोझ
थाप्लोमा नाम्लोको डाम
कट्टुस जङ्गलको बाटो
खाली खुट्टाले उक्त पद यात्रा
जीवानयापनको बोझिलो दबाब
सन्तानबाट असन्तानको झल्को
जीवन मरणको दोसाँध
आखाभरी बलिन्द्र आसुधारा
तरपनी बिस्तारै पुग्नु छ
त्यो पर बजारसम्म,
बेच्नुछ पौरखको कमाइ
सल्काउन साझ बत्ति
र दिनु छ फिस्स एक
तेजिलो बत्ती हासो
सारा दु:खको बाबजुत,
तब जीवन गुलफ फुल्छ ।
आहा !
क्या मीठो सपना
बितेका ती प्रिय मान्छे
निदरीमा आए उनैले सोधे
“बुढी के छ हौ तिम्रो खबर ?
किन हौ यतिका दुब्लाएकि ?
निराश हुनु पर्दैन म तिम्रो साथमा
छु, यहि वायुसङ्गै यताउता बरालिदै।
ए साच्चि एउटा कुरा थाहा छ?
त्यो बारिको डिलमा मैले रोपेको
फुलले मेरो फोटोमा आँखा
चिम्लेर मिठामिठा याद्को
सम्झना गर्दै मलाइ केही
क्षण हातमा फुल लिदै
हृदयङ्गम गर्नु ल ? म
तिमिलाइ आशिष
दिन्छु अनि तिम्रो
जीवन गुलफ
फुल्छ ।”
अफसोच!
लाटकोसेराको हुटहुटीले
बिहानीको अलार्म बजाउछ ।
नमिलेको खाटबाट उठ्ने कोसिस
गर्दा मक्किएका हाड र पन्यालो भएका
नसाको योजन नमिली कटक्क
पड्किन्छ कम्मर र फेरि त्यही
खाटमा पल्टदै कोसिस गर्नु
छ उठ्ने, अघी सपनीमा
आएका प्रिय मान्छेको
यादले आत्मबल उच्च
राख्दै कतै उनिलाइ नै
नियाल्ने बाहाना गरि
घिस्रीदै जानू छ
बाहिर कर्म गर्न
र पो जीवन
गुलाफ
फुल्छ ।
क्याबात!
हिजो मात्र कोपिला
देखिएको तीखो काडाभित्रको
गुलाफी गुलाफ महिनौदेखि उठेर
फुल्न सङ्घर्सरत ढकमक्क फुलेछ वास्ना
दिएर । बलेसीको कडा माटोको
बाबजुत र मलाइ अझै बढी
सिकाउदै छ पाठ जिउने
उ जस्तै फुल्न किनकी
जीवन गुलफ
फुल्छ ।




