काठमाडौं । लामो समयदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघ सरकारसँग वार्तामा बस्न तयार भएको छ। शिक्षा ऐनको मागसहितको आन्दोलन चर्किरहेको बेला महासंघले बिहीबार (भोलि) सरकारसँग वार्तामा बस्ने तयारी गरिरहेको छ।
महासंघका एक पदाधिकारीका अनुसार, अहिले वार्ता टोलीको संरचना, कसले प्रतिनिधित्व गर्ने लगायत विषयमा रणनीति बनाउन बैठक चलिरहेको छ। “शिक्षा सचिवको पत्रपछि हामी आन्तरिक छलफलमा छौं,” ती पदाधिकारीले बताए।
आन्दोलन परिचालन समितिकी संयोजक तथा महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले पनि वार्ताका लागि तयारी भइरहेको पुष्टि गरेकी छिन्। “हामी छलफलमै छौं, निर्णय गरेर जान्छौं,” उनले भनिन्।
शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार, शिक्षक महासंघ बिहीबार वार्तामा आउने जानकारी गराइसकेको छ। महासंघले २० चैतदेखि काठमाडौंमा निरन्तर आन्दोलन गरिरहेको छ।
यसबीच, शिक्षकहरूले बत्ती बाल्ने, कालो मास्क लगाउने, सिटी फुक्ने जस्ता सांकेतिक कार्यक्रमसहित सरकारले शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै दबाब दिँदै आएका छन्।
अब वार्ता सफल हुने र आन्दोलनको मार्ग बन्द हुने, वा सहमति नजुटेर आन्दोलन अझ तीव्र हुने भन्ने कुरा बिहीबारको वार्ताबाटै स्पष्ट हुने छ।




