कर्णाली प्रदेश

कर्णाली स्वास्थ्य प्रतिष्ठानको दीक्षान्त हुँदै

कर्णाली। स्थापनाको १३ वर्षपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही भदौ २३ गते ‘प्रथम दीक्षान्त समारोह’ आयोजना गर्ने भएको छ।

समारोह सञ्चालनका लागि कुलपति एवं प्रधानमन्त्रीबाट स्वीकृति पत्र आइसकेको जनाइएको छ। प्रतिष्ठानमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका गरी कूल ५६ जना विद्यार्थी दीक्षित हुनका लागि योग्य छन्।

प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेश बुढथापाका अनुसार प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा तीन जना, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी पाँच जनासहित कूल ५६ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीसँगै सहकुलपति स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको सहभागिता हुनेछ। सोही अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन (एकेडेमिक विल्डिङ) र तिलगंगा आँखा अस्पतालको सहयोगमा सञ्चालनमा आउन लागेको आँखा केन्द्र उद्घाटन गर्ने कार्यक्रम बताए।

समारोहमा विश्वस्वास्थ्य संगठनको सहयोगमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआ) उपकरण हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ। वरिष्ठ आँखा विशेषज्ञ डा सन्दुक रुइत, विश्वस्वास्थ्य संगठन नेपाल प्रमुख डा राजेश सम्भाजीराव पाण्डवसमेत समारोहमा सहभागी हुने जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *