देश

भक्तपुरमा ऐतिहासिक बिस्केट जात्रा सुरु, भैरवको रथ तान्न तयारी

भक्तपुर । आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आजबाट सुरु भएको छ । तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि स्थानीयको भीड लागेको छ ।

आज बिहान सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिए । दिउँसो १ बजेसम्म सरकारी पूजा सम्पन्न भएपछि रथ तान्न सुरु गरिने र यस वर्ष चाँडै गःहिटी पुर्याउने लक्ष्य राखिएको छ ।

तान्त्रिक विधिपूर्वक सरकारी पूजा सम्पन्न गरी भैरवको रथमा भैरवनाथ र बेताललाई विराजमान गराइएको छ । हनुमान ढोकाबाट ल्याइएको राजाको प्रतीक खड्ग, तरबार र निशान रथमा राखिएपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको थियो ।

विगतका वर्षहरूमा साँझ ५ बजेपछि रथ तान्न सुरु गरी राति अबेरसम्म तौमढीबाट रथलाई गःहिटी पुर्याउने प्रचलन रहे पनि यस वर्ष साँझ ५ बजेसम्म रथ गःहिटी पुर्याई पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी छ ।

आजको जात्रापछि चैत ३१ गते ल्यासिंखेलमा लिङ्गो ठड्याइने र वैशाख १ गते लिङ्गो ढालिने कार्यक्रम छ । वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गरिनेछ ।

बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए । जात्रामा हुलदङ्गा हुन नदिन प्रहरीले सिसी क्यामेरा र सादा पोशाकमा समेत निगरानी गरिरहेको छ । स्थानीयको जात्रा भएकाले सुरक्षाकर्मीले सहज वातावरण बनाउने प्रयास गर्ने र आवश्यकताअनुसार हस्तक्षेप गर्ने रणनीति लिइएको छ ।

जात्राका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनासहित करिब ८०० सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *