देश

पाल्पामा आज ऐतिहासिक भगवती जात्रा

पाल्पा ।जितगढी युद्धको सम्झनामा मंगलबार रणउजिरेश्वरी भगवतीको रथयात्रा (भगवती जात्रा) निकालिँदै छ। दिउँसो साढे १२ बजे रथ उठाउने साइत जुरेको छ।

जात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउँदैछन्। उनी बिहान ११ बजे तानसेन आइपुग्ने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए।

जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजाआराधना गर्ने कार्यक्रम तय भएको छ। त्यसलगत्तै उनले तानसेनस्थित आर्मी ब्यारेक दि फेमस महिन्द्र दल गणमा खानाखाने छन्। यसपछि पाल्पाबाट निर्वाचित जनप्रतिनिधि लगायतका सरोकारवाला निकायसँग भेटघाट गर्ने कार्यक्रम तय भएको प्रजिअ काफ्लेले बताए।

भगवती जात्रा अवलोकनका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य पनि आउने छन्। अन्य प्रदेश मन्त्री, पाल्पाबाट निर्वाचित संघीय सांसदको जात्रामा सहभागिता रहने छ।

राष्ट्रपति आउने भएपछि तानसेनको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। जात्रा अवधिभर कुनै पनि अप्रिय घटना नहुने गरी सुरक्षाकर्मी परिचालन गरेको प्रजिअ काफ्लेले बताए।

भगवती जात्राको महत्त्व

नेपाली सेनाले अंग्रेज सेनालाई परास्त गरेको सम्झनामा विजयोत्सवको रूपमा हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट भगवती जात्रा निकाल्ने गरिन्छ।

वि.सं. १८७१ ÷७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालीन कर्णेल उजिर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो। भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारवादको नेतृत्व गरेको अङ्गे्रज फौजलाई परास्त गरेको खुसियालीमा विजयोत्सव सहित भगवतीको रथयात्रा निकाल्ने चलन छ।

युद्धमा विजय प्राप्त गरेपछि खुशीयालीमा कर्णेल उजिरसिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए। १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो।
जात्राको यो वर्ष २०५औँ संस्करण हो।

जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *