काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा लाग्ने मेला सुरु भएको छ । हरेक वर्ष मार्ग शुक्लपक्ष, मोक्षदा एकादशीदेखि सुरु भएर धान्य पूर्णिमासम्म लाग्ने मेला भर्न देशका विभिन्न स्थानबाट दर्शनार्थीको आवागमन सुरु भएको हो ।
यही मङ्सिरको पहिलो साता शुक्रअन्न समापन भएसँगै दर्शनार्थीको भीड लाग्न थालेकोमा धान्यपूर्णिमाको अवसरमा एकादशीदेखि दर्शनार्थीको चाप बढेको दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष किशोर आचार्यले जानकारी दिएका छन । उनका अनुसार मेलाको मुख्य रौनक यही शनिबारदेखि सुरु भएको हो । शनिबार एकैदिन एक हजार पाँच सयभन्दा बढीले दर्शन गरेका थिए । दोस्रो दिन आज दर्शनार्थीको सहभागिता थप वृद्धि भएको छ । यो वर्षको मेलामा करिब १५ हजार दर्शनार्थीले दुप्चेश्वर महादेवको दर्शन गर्ने अपेक्षा गरिएको छ ।
इच्छा पूरा हुने जनविश्वास
‘जे माग्यो त्यहीँँ सिद्ध गराउने’ भगवान्को रुपमा पुजिने दुप्चेश्वर महादेवसमक्ष इच्छाएको चिज प्राप्त गर्न र भाकल पूरा भएपछि पूजा गर्न भक्तजन मन्दिरमा पुग्ने गरेका छन् । एकपटक पुगेका भक्तजन पुनः अर्को वर्ष पूजा दो¥याउन जाने भएकाले हरेक वर्ष भक्तजनको सङ्ख्या वृद्धि हँुदै गइरहेको मन्दिरका पूजारी हरि धितालले बताउनुभयो । उहाँको अनुसार दुप्चेश्वर मन्दिर सूर्यमती ९तादी० खोलाबाट करिब दुई सय मिटर अग्लो पहाडको विशाल शिलामा अर्ध वृत्ताकार भागको केन्द्रमा अवस्थित प्राकृतिक शिवलिङ्गको रुपमा रहेकाले सानो पशुपति नाथको रुपमा पुज्ने गरिएको छ ।
“करिब साढे चार सय वर्षअघि यही समयमा पत्ता लागेको दुप्चेश्वरमा त्यसयता धान्यपूर्णिमा र फागुपूर्णिमा ‘ठूलो मेला’ लाग्ने गरेको छ ।” मन्दिरका पूजारी धिताले भने , “अघिपछिका दिनमा आउने भक्तजन भाकल पूरा गर्नलाई भने धान्य पूर्णिमाको समयमा सहभागी हुने गरेकाले यस समय तीर्थालुको लागि विशेष बन्छ ।”
दुप्चेश्वर महादेवको उत्पत्ति स्थानीय बासे तामाङले गाई चराउन लैजाँदा हराएको र सपनीमा उक्त गाई त्यस स्थानको भीरमा पुगेको देखेपछि खोज्दै जाने क्रममा दूध चढाइरहेको शिलालाई नै दूप्चेश्वर महादेवको रुपमा पुज्न थालिएको किवदन्ती रहेको स्थानीयवासीको भनाइ छ । समुन्द्र मन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिनुभएका श्रीमहादेव शिव पशुपतिनाथ मन्दिर हुँदै नुवाकोटको दुप्चेश्वरमा बास बसेर गोसाइँकुण्ड गएको किम्वदन्ती रहँदै आएको छ ।
मेलाको विशेष रौनक पूर्णिमाको अघिल्लो दिन रातिदेखि पूर्णिमाको दिन ९यहीँ मङ्सिर २१ र २२ गते० विशेष हुने भए पनि एकादशी तीथिदेखि नै मेला लाग्न सुरु भएको हो ।
व्यवस्थापन पूरा
मेलालाई लक्षित गरेर दुप्चेश्वर मन्दिर परिसरमा बजार तथा पसल सञ्चालनमा ल्याइएको छ । दर्शनार्थीको सहजताका लागि दुप्चेश्वर गाउँपालिकासँगको समन्वयमा दुप्चेश्वर क्षेत्र विकास कोषले दर्शनार्थीको लाइन, सुरक्षा, भेटी व्यवस्थापनसहित सवारीसाधन पार्किङ प्रभावकारी रुपमा मिलाएको स्टल व्यवस्थापन उपसमितिको संयोजक सरिता पण्डितले जानकारी दिए । उनका अनुसार सवारीसाधनको सहज आवागमनका लागि कोषले प्रहरी र स्वयं सेवकको व्यवस्था गरेको छ ।
“यसअघिका वर्षमा जस्तो यो पटक भीडभाड कमभन्दा कम गराउन पार्किङस्थल प्रयाप्त रुपमा मिलाइएको छ ।” वडा नं ६ का वडासदस्य रहनुभएका पण्डितले भन्नुभयो, “सुरक्षा व्यवस्थापनका सुरक्षाकर्मी खटाउन प्रशासनलाई अनुरोध गरिएको छ । उनीहरुलाई सहयोग पु¥याउन स्थानीय एक सयभन्दा बढी स्वयं सेवक युवा खटिएका छन् ।”
रामती बजारदेखि मन्दिरसम्म आउजाउको निगरानी गर्न सीसीटीभी क्यामेरा जडान गरेर सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । मेलालाई लक्षित गरेर दुप्चेश्वर मन्दिर परिसर ९मन्दिरको मुन्तिर० गोगनचउर भरिभराउ भएका छन् । धार्मिक अनुष्ठानदेखि, स्वास्थ्य शिविर र व्यापारिक बजार पसलले गोगनचउर ढाकेको हो ।
भगवान्को स्थलको मुख्य द्वारदेखि मन्दिरसम्म आउजाउ गर्दा दर्शनार्थीले भक्ति सङ्गीत सुन्ने प्रबन्ध मिलाइएको छ । त्यसका लागि मुख्य ढोकादेखि नै दुप्चेश्वर परिसरका हरेक कुना–कुनामा सोही अनुसारको प्रविधि तथा उपकरण जडान गरिएको वडा नं ६ का वडाध्यक्ष एवं दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष किशोर आचार्यले जानकारी दिए ।




