देश

शैल्यशिखर धाम मालिकार्जुनमा पूजन जात्रा

काठमाडौं । दार्चुला जिल्लाको शैल्यशिखर धाम तथा शिखर धुरामा आज पूजन जात्रा लागेको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशी र कात्तिक शुक्ल त्रयोदशीमा शिखर पूजन जात्रा लाग्ने गर्दछ । कार्तिक शुक्ल त्रयोदशीमा पूजन जात्रा यसपाली पनि कार्तिक २० आज बिहानदेखि सुरु भएको हो ।

जिल्लाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धामको पूजन जात्रा हेर्न सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा बझाङ कैलाली, कञ्चनपुरलगायत भारतको उत्तराखण्ड धार्चुला डिडिहाट मुन्स्यारी, पिपली, अस्कोट चम्पावत र पिथौरागढबाटसमेत श्रद्धालु भक्तजन आउने गर्छन् ।

पवित्र मनले शैल्यशिखरको दर्शन गर्नाले पुण्य मिल्ने, खासगरी निःसन्तालाई सन्तान सुख प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ । 

हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषले एक महिना अर्थात् १५ दिन अगाडिदेखि नै शुद्ध भएर एक छाक खान खाएर पवित्र मनले शिखर जात्राको यात्रा गर्नुपर्ने जनविश्वास रहेको छ ।

आज शिखर धाममा पूजन जात्रा सकिएपश्चात् भोलि सोमबार अर्थात् कार्तिक २१ गते मालिकार्जुन मन्दिरमा राति भव्य मेला लाग्ने गर्दछ । 

जात्रामा विशेष गरेर सुदूरपश्चिमको लोकप्रिय बाजा दमाह बजाएर मनोरञ्जन लिने गर्दछन् । भक्तजनले दमाह बाजालाई सुरुमा पुग्नेबेला परिक्रमा गराउने गर्दछन् भने उज्यालो हुने बेला अन्तिम पटक मन्दिर परिक्रमा गरेर मेला बिसर्जन गर्ने चलन रहेँको छ । रात्रिकालीन मेलामा सयौँ जोला दमाह र हजारौँ मान्छे मेला हेर्न आउने गर्दछन् ।

मालिकार्जुनको उत्पत्ति कहाँ भएको थियो ?

द्वितीय ज्योतिर्लिङ्गको मालिकार्जुनको अवतारी मूल स्थापना दक्षिण भारतको आन्ध्र प्रदेश राज्यको श्री शैल भन्ने ठाउँमा भएको शिवपुराणमा उल्लेख भएको पाइन्छ । त्यहाँबाट कत्युर गडवाल, कुमाउँ हुँदै दार्चुलातिर आएको मालिकार्जुन भक्ति गाथामा वर्णन गरिएको छ । 

तत्कालीन डोटी राज्यभित्र पर्ने दुहूँ क्षेत्रमा बम रजवारले डोटी राज्यलाई कर बुझाइ रजवारी पाएका थिए । यिनका समकालीन उकुका रजवार कल्याण पाल थिए । डोटी राज्यका शासक निरइदेव पालका भाई अभय पालका सन्तान भएकाले उकुका रजवार अरू रजवारभन्दा आफू श्रेष्ठ भएका घमण्ड पनि गर्दथे ।

उकुका रजवार कल्यान पाल र दुहूँका रजवारको शासनकाल एकै समय थियो । दुहूँ र उकुको सिमाना जोडिएकै कारण यी दुवैमा आपसी वैमनष्य, रिस, राग, द्वैषको अवस्था सिर्जना भई मन मुटाव भएको ईतिहास छ । यी दुवैका शासनकाल सम्वत् १९५० तिर रहेको पाइन्छ ।

दुवै रजवार बीचको मनमुटावका कारण सीमावर्ती क्षेत्रमा कर असुली न्याय, इन्साफजस्ता कार्यमासमेत असर पुगेको थियो । कालु बमभन्दा कल्याण पालको राज्यमा सल्लाहकारका रूपमा पर्शुराम पन्त, दत्तु जोशी, कर्णदेव विष्ट र एक जना ओझा थरका व्यक्ति थिए । एकपटक तीनै सल्लाहकारले दुहूँका रजवारसँग सन्धिसम्झौता गर्ने सल्लाह दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *