काठमाडौं। विश्व वातावरण दिवसको अवसरमा चाँगुनारायणका नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बृक्षारोपण गरेका छन ।
ब्रह्मकुमारी राजयोग शान्ति प्रतिष्ठान भक्तपुरको निमन्त्रणामा चागुनारायण ५ को नागलडोली छालिङमा पुगेर खत्रीले बृक्षारोपण गरेका हुन ।
बर्षायाम सुरु भएपछि निम्तिन सक्ने विपत नियन्त्रणका लागि खत्रीले विशेष ध्यान केन्द्रित गर्दै विपत्त नियन्त्रणका लागि पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिएका छन । वातावरणीय समस्यासँग जुध्नका चागुनारायण नगरपालिका पूर्वतयारीका साथ अघि बढेको मेयर खत्रीले बताए ।
जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली तथा बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपद्बाट जनधनको क्षतिजस्ता गम्भीर र नकारात्मक असर एवं प्रभाव परेको मेयर खत्रीले बताए ।
ब्रह्मकुमारी राजयोग शान्ति प्रतिष्ठानले विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण तथा प्रवचन कार्यक्रम आयोजना गरेको थियो ।
नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ ।




