धर्म/सस्कृति

आज साउने संक्रान्ति, लुतो फाल्ने दिन

काठमाडौं । आज साउन १ गते अर्थात् आज साउने संक्रान्तिको दिन हो । आजको दिनमा नेपालका गाउँघरमा लुतो फाल्ने प्रचलन छ । असार महिनाभर गरिने खेतीपातीका क्रममा हिलोका कारण छालामा देखिन सक्ने सम्भावित रोगबाट मुक्ति पाउन भन्दै परापूर्वकालदेखि नै लुतो फाल्ने चलन संस्कारका रुपमा चल्दै आएको बुढापाकाहरु बताउँछन् ।

यो चलन साँस्कृतिक महत्वको पर्व हो भने मानव स्वास्थ्यका लागि महत्वपूर्ण वनस्पती रक्षा गर्ने एउटा माध्यम पनि हो । तर हिजोआज लुतो फल्ने चलन कम भएसँगै यी वनस्पतिको संरक्षण पनि हुन नसकेको बुढापाकाहरुको भनाइ छ ।

साउन १ गते लुतो फालेपछि छालासम्बन्धी विभिन्न रोगबाट मुक्ति पाउने धार्मिक विश्वास रहि आएको छ । पछिल्लो समय यो संस्कारमा कमी आइरहेको भए पनि केही धार्मिकस्थलहरुमा सामाजिक रुपमै लुतो फ्याँक्ने संस्कृति मनाउने गरिन्छ ।

कास्की जिल्लाको भरतपोखरीस्थित प्रसिद्ध कोटभैरव मन्दिरजस्ता केही धार्मिक तीर्थस्थलमा सामाजिक रुपमा नै लुतो फाल्ने प्रचलन रहेको कोटभैरव मन्दिर संरक्षण एवं व्यवस्थापन समितिले जनाएको छ । यो चलन कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत लगायत गण्डकी प्रदेशका अधिकांश जिल्लाका ग्रामीण क्षेत्रमा कायमै छ ।

वर्षको दुईवटा ठूला संक्रान्तिमध्ये साउने संक्रान्ति पनि एक हो । यही दिनदेखि अयन परिवर्तन भएर दक्षिणायन सुरु हुन्छ । देवताको उत्तरायणमा दिन र दक्षिणायनमा रात हुन्छ भन्ने मान्यता छ । पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार विवाह व्रतबन्ध आदि कार्यका लागि उत्तरायण राम्रो मानिन्छ भने हाम्रा महत्वपूर्ण चाडपर्वहरु दक्षिणायनमा पर्ने गर्छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *