कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सांस्कृतिक पर्वहरुले राष्ट्रिय एकता, सद्भाव र सहिष्णुता कायम गर्न सहयोग पुर्याएको बताएका छन् ।
‘मकर सङ्क्रान्ति’, ‘माघे सङ्क्रान्ति’ ‘माघी पर्व’ तथा ‘राष्ट्रिय योग दिवस–२०७७’ का अवसरमा उनले कर्णालीवासी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति र आरोग्यताका लागि शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री शाहीले बिहीबार शुभकामना सन्देश जारी गर्दै बहुसांस्कृतिक, बहुजातीय, बहुधार्मिक, बहुभाषिक विविधताले भरिपूर्ण नेपालमा साँस्कृतिक पर्वहरुले राष्ट्रिय एकता र आपसी सद्भाव कायम गर्नमा सहयोग पुगेको बताए । सन्देशमा उनले भने,“नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समावेशी मुलुक हो । लोकतन्त्रले सबैको सांस्कृतिक पर्वलाई सम्मान गरेको छ । सांस्कृतिक, धार्मिक, जातीय र भाषिक विविधताले विश्वसामु चिनिएको नेपालको मौलिक विशिष्टता अर्थात चाडपर्वले सामाजिक सद्भाव, अखण्डता, साझा पहिचान र राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छु ।”
त्यसैगरि, मानव जीवनका लागि योग तथा ध्यानको महत्वलाई बुझेर नेपाल सरकारले विसं २०७२ देखि माघ १ गतेलाई ‘राष्ट्रिय योग दिवस’ घोषणा गरेको बताउँदै उनले ‘योग गरौँ डटेर, कोभिड जान्छ हटेर’ भन्ने मूलनारासँगै बिहीबार मनाइँदै गरेको योग दिवसले सबैको रोग प्रतिरोधात्मक क्षमता बढाउने अपेक्षा गरिएको बताए ।
मुख्यमन्त्री शाहीले कोभिड–१९ पूर्ण नियन्त्रण नआइसकेको भन्दै सावधानीका साथ पर्व मनाउनसमेत आग्रह गरे । प्रदेश सरकारले गत वर्षदेखि ‘माघी पर्व’ का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।




