भादगाउँ । सम्पदा संरक्षण परिषद् नेपालको टोलीले शुक्रबार भक्तपुर नगरका सम्पदाको अवलोकन गर्नुका साथै नगरपालिकाका जनप्रतिनिधिसँग सम्पदा संरक्षणबारे अन्तरक्रिया गरेको छ । परिषद्का अध्यक्ष भागवत नरसिंह प्रधानको नेतृत्वको टोलीले भक्तपुर दरबारस्क्वायर, टौमढीलगायत नगरका विभिन्न स्थानका मूर्त र अमूर्त सम्पदाको स्थलगत अवलोकन गरी सम्पदा संरक्षणमा भक्तपुर नगरपालिकाले गरेका कार्यहरुको बारेमा जानकारी लिए ।
टोलीलाई पर्यटन सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुरको सिद्धपोखरी, भाजु पोखरी, नःपुखु, भक्तपुर दरबार क्षेत्र, तलेजु परिसर, वत्सला मन्दिर, टौमढी, दत्तात्रय स्क्वायर, जनस्वास्थ्य सेवा केन्द्रलगायत सम्पदाहरुको स्थलगत अवलोकन गराउनुभएको थियो । सो अवसरमा टोलीलाई स्वागत गर्दै नगरप्रमुख सुनिल प्रजापतिले नेपालमा सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्तिले गर्दा यसको संरक्षण चुनौतीपूर्ण बन्दै गइरहेको बताए । उनले भक्तपुरका सार्वजनिक सम्पत्तिहरु व्यक्तिले हडपेका थुप्रै उदाहरणहरु प्रस्तुत गर्दै भने, “सार्वजनिक सम्पत्तिको रक्षा गर्नु सबैको कर्तव्य हो ।”
नगरपालिकाले विदेशी सहयोगबिना नै सम्पदा पुनर्निर्माणलाई तीव्रता दिइरहेको जानकारी दिँदै उनले भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माण र भक्तपुरको विकास निर्माणका काममा नगरवासीको निरन्तर साथ र सहयोग पाइरहेको बताए । “भक्तपुरको सांस्कृतिक सम्पदा, मौलिक सीप, स्थानीय खेलहरु संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्यसहित नगरपालिका अघि बढिरहेको छ”, उनले भने । इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषा विषय अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था नगरपालिकाले गरिरहेको उनले बताए ।
सो अवसरमा परिषद्का अध्यक्ष प्रधानले भक्तपुर नगरपालिकाले नगरका मूर्त अमूर्त सम्पदाको संरक्षण निकै सराहनीय ढङ्गले भइरहेको बताए । भक्तपुर नगरपालिकाले नेपालकै पहिचान संरक्षण गर्ने ढङ्गले काम गरिरहेको र सम्पदा संरक्षण गर्ने अभियानमा अग्रस्थानमा रहेको चर्चा गर्दै अध्यक्ष प्रधानले काठमाडौंको ठमेलस्थित पुरातात्विक कमलपोखरी संरक्षण र पुनःस्थापना अभियानमा भक्तपुरका जनताको निरन्तर साथ र सहयोग पाइरहनेमा विश्वास व्यक्त गरे ।
सोही अवसरमा नगरपालिकाका जनप्रतिनिधि र सो टोलीबीच नगरको शिक्षा, स्वास्थ्य, विकास निर्माण, सम्पदा संरक्षणलगायत विषयमा अन्तरक्रियात्मक कार्यक्रम भएको थियो । कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, वडा नम्बर ७ का वडाध्यक्ष उकेश कवांलगायतले काठमाडौंको थःबहीमा अवस्थित पले स्वाँ पुखु संरक्षणको निम्ति सम्पदा संरक्षण परिषद्ले गरिरहेको सङ्घर्षप्रति ऐक्यबद्धता जनाएका थिए भने जौवन कोजुले भक्तपुरको सांस्कृतिक सम्पदाबारे प्रस्तुतीकरण देखाए ।




